धरमरमा एमाले नेतृत्वकाे कोशी प्रदेश सरकार, बाहिरियो जसपा

जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै सरकारमा सहभागी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाइएको जसपाका एक नेताले बताए।

एक मात्र सांसद भएको जसपाबाट लिम्बू गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन्। राष्ट्रपतिको निर्वाचनसँग केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै ६ वटा प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ। तर, कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जसपा र माओवादी केन्द्र सहभागी छन्।

जसपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि हिक्मतकुमार कार्की नेतृत्वकाे प्रदेश सरकार संकटाेन्मुख देखिएकाे छ। माओवादी केन्द्र पनि नैतिक दबाबमा परेको छ। यसअघि नेपाली कांग्रेस संसदीय दलले लिखित रूपमा नै माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको थियो।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसद छन्। एमाले र राप्रपा एक ठाउँमा छन् भने कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा एउटा गठबन्धनमा छन्।

प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ तर सभामुखबाहेक दुवै पक्षमा समान ४६ मत पुग्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर