गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस)’ सञ्चालनको बाटो खुलेको छ ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आईएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिएका हुन् ।

‘भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्ण क्षमतामा हवाई उडान हुनेछ,’ प्रधानमन्त्री दाहालले भने । उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानको अपेक्षा गरेको बताए ।

प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी गराए । उनले भने, ‘भैरहवा विमानस्थलबाट एटीआर एयरक्राफ्टको उडान सम्भव भइसकेको छ । अब महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको अनुमतिका लागि हामीले भारत सरकारसमक्ष अनुरोध गरेका छौँ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस प्रणाली जडान भए पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन । यो प्रणाली सञ्चालनमा आउने बित्तिकै जुनसुकै मौसममा पनि जहाजले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका हंशराज पाण्डेले बताए । यसअघि यो प्रणाली जडान भए पनि नेपाल भारत सीमाका कारण भारतबाट सञ्चालनको अनुमति नआउँदा जाडो याममा हुस्सु लाग्दा जहाजले उडान नै रद्द गर्नुपरेको थियो ।

हाल विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर, आईएलएस कार्यान्वयन हुँदा कम्तीमा आठ सय मिटरको भिजिविलिटीमा पनि विमान अवतरण गराउन सकिन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *