बाथरोग उपचारमा संलग्न संस्था र पीडितलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री बस्नेत

नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्‍याऔं, सामाजिक उत्तरदायित्व पूरा गरौं’ भन्ने नाराका साथ आज आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ ।

काठमाडौं, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले अब थप सात स्थानमा सेवा विस्तार गरी बाथरोगको उपचार गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आज काठमाडौंमा सेन्टरको वार्षिकोत्सव उद्घाटन गर्दै औषधोपचारसहित जनचेतना जगाएर बाथरोग पीडितका पक्षमा सक्रिय रूपमा खटिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सक्दो सहयोग गर्न सरकार तयार रहेको बताए ।

जनताको मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वस्थ आहारविहार र जीवनशैली अपनाई रोग लाग्न नदिनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।

बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले काठमाडौंसहित मुलुकका प्रमुख आठ सहरबाट सेवा प्रवाह गर्दै आएकामा अब थप सात वटा सहरमा सेवा विस्तार गरिने जानकारी दिए । उनले अहिले काठमाडौंबाट दैनिक दुई सय बिरामीलाई उपचार गराउँदै आएकामा सेवा विस्तारपछि छ सय जनाको उपचार गरिने जानकारी दिए ।

बाथरोग विशेषज्ञ विनित वैद्यले विश्वस्वास्थ्य संगठनका अनुसार नसर्ने रोगअन्तर्गतको बाथरोगबाट १० प्रतिशत जनता प्रभावित हुने भएबमोजिम नेपालमा करिब ३० लाख जनता यस रोगबाट प्रभावित हुन सक्ने बताउँदै त्यसको आधा जनसंख्या मात्र स्वास्थ्योपचारका क्रममा आएको बताए ।

सो अवसरमा अस्पतालमा स्थापनाकालदेखि कार्यरतसहित वर्ष उत्कृष्ट जनशक्तिलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर