नेपालमा शान्ति स्थापनामा प्रविधिका लागि सहकार्यसम्बन्धी गोष्ठी हुँदै

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास गर्ने तथा नवीनतम प्रविधिहरूको प्रयोग गर्ने उद्देश्यले नेपालमा गोष्ठी आयोजना हुने भएको छ।

‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य अन्तर्राष्ट्रिय संगोष्ठी (पीटीपीएस)’ को सातौं यही जेठ ३० देखि असार १ गतेसम्म नेपालमा सञ्चालन हुने भएको हो।

संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गतका परिचालन समर्थन विभाग (डीओएस) र सूचना तथा सञ्चार प्रविधि कार्यालय (ओआईसीटी) ले गोष्ठी सञ्चालन गर्ने भएको हो।

विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुसार शान्ति कार्य मिसनहरूमा प्रयोग भइरहेका प्रविधिहरू, चुनौती एवं सर्वोत्कृष्ट अभ्यासहरूका बारेमा सदस्य राष्ट्रहरूबीच अनुभव आदानप्रदान गर्ने हेतुले कार्यक्रम आयेजना गरिएको हो।

रक्षा मन्त्रालयको अगुवाइ तथा नेपाली सेनाको समन्वयमा कार्यक्रम सञ्चालन हुन लागेको हो।

कार्यक्रममा नेपालका तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुने नेपाली सेनाले जनाएकाे छ।

संयुक्त राष्ट्रसंघ मुख्यालयबाट परिचालन समर्थन विभागका उपमहासचिव जनरल अतुल खरे, सूचना तथा सञ्चार प्रविधि कार्यालयका सहायक महासचिव, मानवीय संसाधनका सहायक महासचिव, संयुक्त राष्ट्रसंघको विच्छेदन बलका फोर्स कमाण्डरलगायत विभिन्न ११ वटा शान्ति मिसनका प्रतिनिधिहरू, संयुक्त राष्ट्रसंघका ५१ वटा सदस्य राष्ट्रका प्रतिनिधिहरू, विभिन्न विषय विज्ञहरूसहित २३० जनाको सहभागिता रहने छ।

शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य कार्यक्रम संयुक्त राष्ट्रसंघले पहिलो पटक सन् २०१४ मा इटलीमा आयोजना गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *