काशीसहित ६० सहर घुमेर फर्कने पाहुनाको मनमा भारतको तस्बिर रहनेछ: विदेशमन्त्री एस जयशंकर

भारतको बनारसमा जी–२० मा आबद्ध देशका विकासमन्त्रीहरुको बैठक सोमबारदेखि सुरु भएको छ । हाल जी–२० को अध्यक्ष रहेको भारतले यसका बैठकहरु आफ्ना विभिन्न सहरमा आयोजना गर्दै आएको छ ।

केही साताअघि भारतले जी–२० पर्यटन बैठक श्रीनगरमा आयोजना गरेको थियो । बनारसमा सुरु भएको पूर्वाधारसम्बन्धी बैठक तीन दिनसम्म आयोजना हुनेछ । भारतका विदेशमन्त्री एस जयशंकरको अध्यक्षतामा बैठक सुरु भएको हो ।

युरोपेली संघ, औद्योगिक एवम् विकासोन्मुख राष्ट्रसहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका १९ देश मिलेर बनेको अन्तरसरकारी मञ्च जी–२० का विकासमन्त्रीरूको बैठकमा भाग लिन ब्राजिल, जर्मनी, जापान, इन्डोनेसिया र चीनका प्रतिनिधि पनि बनारस आइपुगेका छन् ।

बैठकमा अस्ट्रेलियाका राजनीतिज्ञ प्याट्रिक कोनरोय, भारतका लागि ब्राजिलका राजदूत मौरिसियो लिरियो, अन्तरराष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुट्टा उर्पिलेनेन, जर्मनीका आर्थिक सहयोग तथा विकासमन्त्री स्वेन्जा शुल्जे, जापानी मन्त्री शुन्सुके ताकेई र चीनका झाओ यिफानलगायत सहभागी छन् ।

सोमबार बैठकलाई भिडियोमार्फत सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विकासलाई कायम राख्नु सामूहिक जिम्मेवारी रहेको बताए । साथै, विश्वको विकासमा मद्दत गर्न भारत सधैं तयार रहेको पनि उनको भनाइ थियो । विश्वलाई बचाइराख्नका लाग वातावरणमा ध्यान दिनुपर्ने र त्यसका लागि नदी, रुखबिरुवाको सम्मान गर्नुपर्ने मोदीले बताए ।

‘काशी शताब्दीयौंदेखि ज्ञान, चर्चा, बहस, संस्कृति र आध्यात्मिकताको केन्द्र रहेको छ । यसमा भारतको विविध सम्पदाको सार समावेश छ । जी–२० समूहको विकास एजेन्डा काशीमा पनि पुगेकोमा म खुसी छु । दिगो विकास लक्ष्यलाई पछाडि नपर्न दिनु हाम्रो सामूहिक जिम्मेवारी हो भन्ने मलाई लाग्छ,’ उनले आफ्नो सम्बोधनमा भने ।

‘हामीले यो सुनिश्चित गर्नुपर्दछ कि कोही पनि पछाडि नछोडौं । संसारलाई सन्देश दिनुहोस् कि हामीसँग यो हासिल गर्न कार्य योजना छ । हाम्रा प्रयासहरू व्यापक, समावेशी, निष्पक्ष र दिगो हुनुपर्छ,’ मोदीले भने । उनले लैंगिक समानता र महिला सशक्तीकरणमा पनि जोड दिए । प्रधानमन्त्री मोदीले डिजिटलाइजेसनले भारतमा क्रान्तिकारी परिवर्तन ल्याएको बताए ।

भारतका विदेशमन्त्री एस जयशंकरले भारतमा हुने जी–२० सम्मेलन विश्वका लागि असाधारण भएको बताए । पहिलो पटक जी–२० लाई जनसहभागिताको रूपमा हेरिएको छ । यसअघि जी–२० को अध्यक्षता पाएका देशको राजधानीमा मात्र कार्यक्रम हुने गरेको थियो । जी–२० को इतिहासमा यो पहिलो पटक हो कि यो भारतका लगभग ६० सहरहरूमा आयोजना भइरहेको छ ।

‘काशीसहित ६० सहर घुमेर फर्कने पाहुनाको मनमा भारतको तस्बिर रहनेछ । उनीहरुले हाम्रो संस्कृति बुझ्नेछन् र जहाँ जानेछन्, भारतको प्रचारक बन्नेछन् । भारतको संस्कृति र परम्परालाई विश्वसामु राख्नेछन्,’ जयशंकरले भने ।

बैठकमा विदेशमन्त्री जयशंकरले स्थायी विकासका लक्ष्यसम्बन्धी ७ वर्षे योजना प्रस्तुत गरेका छन् । यी योजना तत्कालन गर्न सकिने उनको भनाइ थियो । डिजिटल संरचना निर्माण र विकासका लागि तथ्यांकलाई बढावा दिने विषयमा उनले योजना सार्वजनिक गरेका थिए । यी योजना विश्वभर नवप्रवर्तन तथा ग्रासरुट क्षेत्रमा लागू गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर