हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

माडी नगरपालिकामा नौ वडा मात्रै छन्। विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो।

गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो। सुरुवाती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले नौ वडा कायम गरेको थियो।

संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडा नं १० लाई बजेट विनियोजन गरेको छ। माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए।

‘माडीमा वडा नं १० नै छैन। १० लाख बजेट वडा नं १० का लागि भनेर छुट्टयाइएको छ,’ उनले भने। कार्यक्रम नै तोकेर बजेट विनियोजन पठाइएको उनले बताए।

नगरपालिकालाई दिइएको बजेट भएको भए आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्योलमा परेको उनको भनाइ छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल स्यालोट्युवेल जडानका लागि बजेट विनियोजन भएको जानकारी दिए।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै पहिलो कार्यपालिका बैठकले माडीको बाँदरझुलालाई वडा नं १० बनाउन सङ्घीय सरकारलाई सिफारिस गरेको छ। सङ्घीय सरकारले भने त्यससम्बन्धमा कुनै निर्णय गरेको छैन।

‘वडा सिफारिस गरिएको छ, तर निर्णय भइसकेको छैन, तर बजेट विनियोजन भएर आयो,’ पौडेलले भने। अब यो बजेटलाई के गर्ने भन्ने विषयमा सङ्घीय सरकारसँग कार्यान्वयनका क्रममा समन्वय गरिने उनले बताए। बजेट आएको भए पनि वडाको विषयमा आधिकारिक जानकारी नआएको उनको भनाइ छ।

माडीमा अन्तर सरकारी वित्तीय रकम ४७ करोड ५१ लाख बजेट आएको छ। त्यसमध्ये समानिकरण अनुदान १२ करोड १५ लाख, नेपाल सरकारको समानिकरण न्यूनतम अनुदान तीन करोड ५० लाख, समानिकरण सुत्रमा आधारित अनुदान आठ करोड १४ लाख, समानिकरण कार्यसम्पादनमा आधारित अनुदान ५१ लाख रहेको छ।

यस्तै ससर्त अनुदान ३० करोड ३६ लाख रहेको छ। सङ्घीय सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पुर्वाधार, सामाजिक विकास लगायतका क्षेत्रमा बजेट तोकेर पठाएको छ। विशेष कार्यक्रमअन्तर्गत दुई कार्यक्रम वडा नै तोकेर पठाइएको पौडेलले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *