संखुवासभामा बाढी-पहिरोमा बेपत्ताको खोजी गर्न कुकुर परिचालन

सङ्खुवासभामा बाढी-पहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ताको एक सातासम्म पनि फेला नपरेपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको हो ।

नेपाल प्रहरीले धरानबाट ल्याएको तालिम प्राप्त दुई कुकुरले आज बिहान सभाखोलादेखि खोजी थालेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

प्रहरीको तालिम प्राप्त कुकुरले हेवा र सभाखोला किनारमा बेपत्ताको खोजी गर्न थालेको उनले बताए ।

बाढी-पहिरामा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि बेपत्ता २० जनाको अवस्था पत्ता नलागेपछि प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हेवा खोला र सभाखोला किनार आसपास खोजी गर्नेछ । बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन् ।

बाढी-पहिराका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका छन् । बाढी पहिरोबाट १२ घर पूर्णरुपमा क्षति भएका छन् ।

बाढी-पहिरोबाट २० मध्ये १६ जना सुपर हेवाखोला जलविद्युत् र एक जना अपर हेवाखोला जलविद्युत् आयोजनाका, एक जना अमर कन्ट्रक्सनका तथा दुई जना सभाखोपरी गाउँपालिकामा बेपत्ता भएका छन् ।

बाढी पहिराका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर