ऋण लेनदेनपछि स्थानीय तहबाट प्रमाणीकरण गराइने

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले साहु र ऋणीबीच ब्याजमा आर्थिक लेनदेनको कारोबार भएपछि स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानूनी व्यवस्थाको प्रस्ताव गरिएको बताएका छन्।

राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरूङले त्यस्तो व्यवस्था गर्दा वास्तविक ऋण लिनेहरू नठगिने र नक्कली पीडित हुने समस्या नहुने स्पष्ट गरे।

विधेयकमा ऋण लेनदेन भएका छ महिनाभित्र दुवै पक्ष (साहु र ऋणी) स्थानीय तहमा गएर प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए। यस्तो प्रबन्धले लिने र दिने दुवै त्रसित हुन नपर्ने उल्लेख गर्दै मन्त्री गुरूङले सही नियतले गरिने ऐँचोपैचो रोक्ने विधेयकको मनशाय नभएको स्पष्ट पारे।

सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकमाछि संशोधन पेस गर्न सांसद्हरुलाई आग्रह गरिएको छ । सामन्तवादका अवशेष अन्त्यका लागि नै सो विधेयक ल्याएको स्पष्ट गर्दै उनले राज्यका औपचारिक वित्तीय संस्था आम जनताका बीचमा बढीभन्दा बढी पहुँचमा लगिँदै आएको बताए।

मिटरब्याजको समस्यामा राजनीतिक र प्रहरी क्षेत्रका उच्च तहका व्यक्ति संलग्न भए पनि कानून बनेपछि पीडक र पीडित छुट्याएर पीडिकलाई कारबाही गरिने उनले बताए। मन्त्री गुरूङले उक्त विधेयक समयमा सदनमा ल्याउन नसकेकामा नेपाल सरकारका तर्फबाट माफी माग्दै राष्ट्रियसभाबाट पारित भएपछि यही असार ६ गते विधेयक सांसदहरूको पिजन हलमा उपलब्ध गराइएको स्पष्ट गरे।

विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरु दीलेन्द्रप्रसाद बडू, पदम गिरी, सुमना श्रेष्ठ, माधव सापकोटा, रामकृष्ण यादव, राजकिशोर यादव, सुशीला श्रेष्ठ, मुक्ताकुमारी यादव, रामहरि खतिवडा, राजेन्द्रकुमार केसी, प्रेम सुवाललगायतले भाग लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर