ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ।

हदम्याद गुज्रिसकेको घटनामा गैरकानूनी रूपमा आफूहरूलाई पक्राउ गरेको भन्दै गत बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह र धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए। उक्त रिटमा न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा सुनुवाइ हुन लागेको हो।

शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुँडालको एकल इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। प्रतिवादीहरूले सोमबार लिखित जवाफ बुझाएपछि आजका लागि पेसी तोकिएको हो।

गृह मन्त्रालयसमेतलाई विपक्षी बनाइएको रिट निवेदनमा यो कसुरमा मुद्दा चल्न नसक्ने र सर्वोच्च अदालतले नै हदम्याद नाघिसकेको भनी आदेश गरिसकेकाले आफूहरूलाई थुनामा राख्न नमिल्ने माग गरिएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १७ जनालाई यो मुद्दामा पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। सोही आदेशलाई आधार मान्दै तीन जना छुटेका थिए।

सर्वोच्चले उक्त आदेश गर्दाका फाइलसमेत सँगै पेस गर्न भनेको छ। यो प्रकरणमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर