अपराधमा चिनियाँ

फ्रि भिसामा आउने, अपराध गर्ने र चीन नै भाग्ने

सात वर्षमा १६ अर्ब राजस्व गुम्याे

नेपालको उत्तरी छिमेकी देश चीनसँगको सम्बन्ध र आवतजावतमा सहजता बढ्दै जाँदा चिनियाँ नागरिकबाट नेपालमा आपराधिक गतिविधि बढ्दो क्रममा देखिएको छ । पर्यटन प्रवद्र्धनका लागि चिनियाँ नागरिकलाई नेपालले भिसा शुल्क नलिने व्यवस्था गरे पनि त्यसैको फाइदा उठाएर उनीहरु यहाँ ओभरस्टे गर्ने, आपराधिक गतिविधिमा संलग्न हुने र पछि सहजै चीनतर्फ भाग्ने गरेको विभिन्न घटनाक्रमले देखाएका हुन् ।

हालै मात्र नेपालमा करिब एक सय किलोग्राम सुन तस्करीमा चिनियाँहरुको पनि संलग्नता देखिएको छ । चीन, नेपाल र भारतका गिरोह मिलेर हङकङ हुँदै नेपाल भित्र्याइएको सुनको तस्करीमा संलग्नताको आधारमा चिनियाँ नागरिक पनि पक्राउ परेका हुन् । तिब्बत एयरबाट चीन जाने तयारीमा रहेका ३६ वर्षीय जेक्युयाङ लिनलाई विमानस्थलको अध्यागमन कक्षबाट पक्राउ गरिएको हो । उनी तस्करीको सुनसहित केही आरोपित पक्राउ गरेपछि मंगलबारदेखि नै सम्पर्कविहीन भएका थिए । बिहीबार उनी चीनको छेन्दु फर्किन लागेका थिए । उनी ७ महिनाअघिदेखि काठमाडौं बस्दै आएको खुलेको छ ।

तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले २०७२ (सन् २०१५) सालमा चीन भ्रमणका क्रममा नेपाल आउने चिनियाँ पर्यटकलाई भिसा शुल्क नलाग्ने प्रावधानमा हस्ताक्षर गरेका थिए । चिनिया पर्यटकले १५० दिन अर्थात ५ महिनासम्मका लागि नेपाल आउँदा भिसा शुल्क तिर्नु पर्दैन । भूकम्प र भारतीय नाकाबन्दीले थिलथिलो बनेको पर्यटन उद्योगलाई माथि उकास्न उक्त व्यवस्था लागू गरिएको थियो । तर, चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा भिसा शुल्क छुट दिने सरकारी नीतिका कारण हालसम्म अर्बौं रुपैयाँ राजस्व गुमाएको मात्र छैन, नेपालमा सहजै अपराध गरेर चीनतर्फ भाग्ने प्रवृत्ति पनि देखिएको छ । यद्यपि, चीनले नेपालीलाई निःशुल्क भिसा भने दिँदैन ।

उक्त व्यवस्था लागू हुनुअघि चिनिया पर्यटक नेपाल आउँदा १५० दिनको भिसा शुल्क २५० अमेरिकी डलर तिर्नु पर्ने हुन्थ्यो । नेपाल सरकारले २०७३ पुस १७ गते (१ जनवरी २०१६) देखि यस्तो व्यवस्था कार्यान्वयन गरेको हो । सो मितिदेखि सन् २०२२ को जनवरीसम्ममा ५ लाख २३ हजार ५४५ जना चिनियाँ नागरिक नेपाल आएका थिए, जसबापत करिब १५ अर्ब ८३ करोडभन्दा बढी रकम गुमेको थियो । त्यो रकम हालसम्म आइपुग्दा अझै बढेको छ ।

नेपाली युवाहरुलाई आर्कषक रोजगारको प्रलोभनमा म्यानमारमा बन्धक बनाउने चिनियाँ गिरोहका सदस्य र चीनको झण्डा ।

चिनियाँ पर्यटक नेपाल भित्रिएसँगै चिनियाँ लगानीका होटल तथा रेष्टुराहरु मुख्य पर्यटकीय क्षेत्रमा खोल्ने क्रमले तीव्रता पाएको छ । चिनियाँ पर्यटकले चिनियाँ लगानीलाई प्रवद्र्धन गर्दा घुमिफिरी यहाँ गरिएको खर्च चीनमा नै फर्कने गरेको छ । पछिल्लो समय निःशुल्क भिसामा नेपाल भित्रिएका चिनियाँ पर्यटक ओभरस्टे तथा विभिन्न गैरकानूनी व्यवसायमा संलग्न हुनेको संख्यामा समेत वृद्धि हुन थालेको छ । अध्यागमन विभागले निष्कासन गर्ने विदेशी पर्यटकमध्ये अधिकांश चिनियाँ पर्यटक छन् ।

चिनियाँहरु यहाँ सुन तथा मानव तस्करी, साइबर अपराध, जडीबुटी तस्करी, कल बाइपास, अपहरणजस्ता अपराधमा संलग्न भएको पाइएको छ । अहिलेको क्विन्टल सुन मात्र नभएर यसअघिको ८८ किलो सुन तस्करीमा पनि चिनियाँ नागरिकको नै संलग्नता भेटिएको थियो । १९ भदौ २०७४ (४ सेप्टेम्बर २०१७) मा चीनको केरुङबाट रसुवागढी नाका हुँदै ८८ किलो सुन तस्करी भएको थियो, जसमा संलग्न एक भरिया काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ परेका थिए । नेपालमा चीन, दुबई, थाइल्यान्ड, हङकङलगायत मुलुकबाट अवैध रूपमा सुन भित्रिने गरेको छ ।

२८ असार, २०८० (१३ जुलाई २०२३) मा नेपाली नागरिकलाई आकर्षक रोजगारीको प्रलोभन देखाई दक्षिण पूर्वी एशियाका लाओस, थाइल्याण्ड, म्यान्मारलगायतका देशहरूमा पु¥याएर अवैध अनलाइन ठगीमा लगाउने गिरोहका मुख्य योजनाकार चिनियाँ नागरिक पक्राउ परे । पक्राउ पर्नेमा चीनको कान्सु प्रान्त घर भएका जोनसन नाम बताउने ४२ वर्षीय लियाङ चन थिए । उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको थियो । गिरोहले नेपालीलाई विदेश पु¥याएपछि बन्धक बनाएर शारीरिक तथा मानसिक यातनासहित जबर्जस्ती ठगीधन्दामा लगाएर श्रमशोषण गर्ने गरेको खुलेको थियो ।

नेपालमा पक्राउ परेका चिनियाँ ह्याकरहरु ।

यस्तै, ७ पुस २०७६ (२३ डिसेम्बर २०१९) मा प्रहरीले साइबर अपराध लगायतमा संलग्न १ सय २२ जना चिनियाँहरुलाई पक्राउ गरेको थियो । उनीहरुले काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए । उनीहरु लामो समयदेखि अपार्टमेन्ट र होटलमा बस्दै आएका थिए । पक्राउ परेकाहरुबाट प्रहरीले ल्यापटप, मोबाइल फोन र सिम बरामद गरेको थियो । पछि चीनलाई हस्तान्तरण गरिएका उनीहरुलाई साइबर अपराध लगायतमा सजाय भएको थियो ।

यस्तै, १५ भदौ २०७६ (१ सेप्टेम्बर २०१९) मा काठमाडौंमा सिस्टम ह्याक गरेर एटीएमबाट करोडौं रुपैयाँ निकाल्न पनि चिनियाँ नागरिक नै संलग्न भएका थिए । उनीहरु रकम निकालेर चीन भाग्ने तयारीमा थिए, तर प्रहरीको सक्रियापछि पक्राउ पर्न सफल भए ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चिनियाँ नागरिकहरु ।

तस्करीमा मात्र नभएर नेपाली व्यवसायमा पनि चिनियाँको हस्तक्षेप बढ्दो छ । चिनियाँहरुले विशेषगरी पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन् । काठमाडौंको पर्यटकको चहलपहल हुने क्षेत्र ठमेलमा अहिले चिनियाँहरुले कब्जा नै गरिसकेका छन् । यहाँका अधिकांश होटल व्यवसाय सञ्चालक अहिले चिनियाँ नै छन् । यस्तै, अन्य पर्यटकीय क्षेत्र पोखरा, चितवन, बुटवलमा पनि चिनियाँको लगानी बढ्दो छ । होटल, रेस्टुँरा लगायत क्षेत्रमा चिनियाँले कब्जा गर्दा नेपाली व्यवसायी मारमा परेका छन् भने चिनियाँ लगायत पर्यटकले नेपालमा खर्च गर्ने रकम चीनमा नै फिर्ता गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर