उपराष्ट्रपति यादवले फहराए ११० फिट अग्लाे राष्ट्रिय झण्डा

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएका छन्। महोत्तरीको मटिहानी नगरपालिका-७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उनले एक समारोहबीच आज फहराएका हुन्। यो झण्डा मुलुककै सबैभन्दा उचो भएको दाबी गरिएको छ।

मुलुककै प्रशिद्ध लक्ष्मीनारायण मठ अगाडि निर्मित तस्मैयाबाबा उद्यान परिसरभित्र यो झण्डा विशेष मञ्चमाथि जडान गरिएको छ। राष्ट्रिय झण्डा फहराउनअघि उपराष्ट्रपति यादवले झण्डा उभ्याइएको खम्बाछेउमै राखिएको शिलालेखको अनावरण गरे। मटिहानी नगरपालिकाले निर्माण गरेको विशेष मञ्चमा जडित यो राष्ट्रिय झण्डा फहराउने (उद्घाटन गर्ने) कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, मधेस प्रदेशसभा सदस्य, प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

समारोह मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो। यो राष्ट्रिय झण्डा जडान तस्मैयाबाबा उद्यान निर्माण योजनाकै अङ्ग रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताए। कुल पाँच करोड लागत इष्टिमेटको उद्यान निर्माणमा हालसम्म एक करोड १० लाख रूपैयाँ खर्च भएको र त्यसमध्ये राष्ट्रिय झण्डा जडानमा १२ लाख ५० हजार रूपैयाँ खर्च भएको प्राविधिक शाखाले जनाएको छ।

नेपाली सामाजिक सद्भाव विश्वमै उत्कृष्ट : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली समाजको सहिष्णुता र आपसी सद्भाव विश्वमै उत्कृष्ट रहेको बताए। आज महोत्तरीको मटिहानीमा नागरिक अभिनन्दन ग्रहण गर्दै उपराष्ट्रपति यादवले फरक-फरक जाति, धर्म र भाषा समुदायका नेपालीको आपसी मेल र एकअर्काप्रतिको सद्भाव विश्वमै उदाहरणीय रहेको बताए।

‘हमरासभक समाज सहिष्णु आ एकदोसरक आस्थाप्रति सद्भाव रखैत अछि (हाम्रो समाज सहिष्णु र एकअर्काको आस्थाप्रति सद्भाव राख्दछ),’ मैथिलीमा सम्बाेधन गरेका उपराष्ट्रपति यादवले भने, ‘दुनियाँक लेल यी हमर परिचय आ सिख सेहो अछि (दुनियाँका लागि यो हाम्रो परिचय र सिक्ने सिकाउने कुरा पनि हो)।’

यादवले हिन्दू परम्पराका सन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबाको परिकल्पना र मेहनतले आधुनिक मटिहानीको जग बसेको र हिन्दू/इस्लाम एकापसमा मिलेर बसेका दृष्टान्त पनि यहाँ (मटिहानीमा) देखिएको उपराष्ट्रपति यादवले उल्लेख गरे।

समारोहमा मटिहानी नगरवासीका तर्फबाट नगरप्रमुख हरिप्रसाद मण्डलले प्रदान गरेकाे अभिनन्दनपत्र ग्रहण गर्दै उपराष्ट्रपति यादवले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका धार्मिक महत्त्वका स्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए।

‘तीन तहक सरकारबीच आवश्यक समन्वय बढाक धार्मिक पर्यटन प्रवर्द्धनक काज अगा बैढसकैत अछि (तीनै तहका सरकारबीचको आपसी समन्वयबाट धार्मिक पर्यटन प्रवद्र्धनका काम अघि बढ्न सक्छन्),’ उनले भने।

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादवसहित मन्त्रिपरिषद्का सदस्यको उपस्थिति रहेको समारोहमा उपराष्ट्रपति यादवले मधेसभरि नै पानी नपरेर खेतीपातीमात्र नभई खानेपानीकै हाहाकार पर्दै गएको समस्या सम्बोधन गर्न अनुरोध गरे।

समारोहमा मुख्यमन्त्री सरोजकुमार यादवले अहिले मधेस प्रदेश सरकार सिँचाइ र खानेपानीको समुचित प्रबन्धसँगै पशुवस्तुमा बढ्दै गएको लम्पी स्किन रोगको पूर्वउपचार कार्यमा तदारूकाका साथ लागेको बताए।

मटिहानीवासीले उपराष्ट्रपति यादवलाई नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको स्थापना गर्न र मधेस आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन दिएकाे योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको अभिनन्दनपत्रमा उल्लेख छ ।

नागरिक अभिनन्दन ग्रहणअघि उपराष्ट्रपति यादवले मटिहानी-७ स्थित लक्ष्मीसागर तलाउमा महाआरती, लक्ष्मीनारायण मन्दिरमा पूजाअर्चना, लक्ष्मीनारायण मठ परिसरको अवलोकन, तस्मैयाबाबाको समाधिस्थल र पीरबाबाको मजारमा पुष्पगुच्छा अर्पण, ३०५ वर्ष पुरानो गुरूकुल (हाल राजकीय संस्कृत माध्यमिक विद्यालय) को निरीक्षण अनुगमन र तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको एक सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनुका साथै झण्डा शिलालेख अनावरण गरेका थिए। मटिहानीमा सम्पन्न अभिनन्दन समारोह नगर प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *