विष खुवाएर छोरीको हत्या गरेको अभियोगमा आमालाई तीन वर्ष कैद

तनहुँ जिल्ला अदालतले विष खुवाएर छोरीको हत्या गरेको अभियोगमा आमालाई तीन वर्ष कैदकाे फैसला सुनाएको छ।

अदालतले पोखरा महानगरपालिका-२४, कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रूपैयाँ जरिवाना सजायको फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए।

सुष्माले वि. सं. २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका-२, खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए।

उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो। सुष्मा भने उपचारपश्चात् निको भएकी थिइन्। सो घटनामा आरोपितका पति मनोज विकले वि. सं. २०७७ माघ २५ गते सुष्माका विरूद्ध जाहेरी दिएका थिए।

घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए। सुष्मालाई प्रहरीले वि. सं. २०७८ साउन ३० गते पक्राउ गरेको थियो।

उनीविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले वि. सं. २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो। सुष्मा सोही साल भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर