शीतभण्डार निर्माणमा करिब एक करोड भ्रष्टाचार, पूर्वसचिवसहित १६ जनाविरूद्ध मुद्दा

उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीतभण्डार निर्माण गर्दा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार शीतभण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको उजुरी परे पनि अख्तियारले अनुसन्धान गर्दा भ्रष्टाचार भएको देखिएको हो।

उनीहरूले शीतभण्डार निर्माण गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरेको, त्यही खेस्रा नक्सासमेतको विपरीत हुने गरी शीतभण्डार निर्माण गराएको आरोप छ।

साथै  गुणस्तरहीन कामलाई गुणस्तर प्रमाणित गरी कर्णाली कोल्डचेन लजिस्टिक प्रालि नामक कम्पनीलाई ९२ लाख ४३ हजार २९८ रूपैयाँ भुक्नानी गरेको देखिएकाले सोही बराबर रकम बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरिएकाे अख्तियारले जनाएकाे छ।

तत्कालीन आयोजना प्रमुख भारी, इन्जिनियर महेश शर्मा, सबइन्जिनियर गणेश भण्डारी, वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डित, लेखा अधिकृतहरू हरिबहादुर थापा, खिमलाल वली र उत्तमकुमाार बस्नेत, निर्देशक भक्तिराम शर्मा, प्राविधिक सहायक गुरूप्रसाद अधिकारी, कृषि अधिकृत सुरेशकुमार थापा र सहलेखापाल उषा ठाडाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

यस्तै सबइन्जिनियर सुवर्णराज भारती, कर्णाली कोल्ड चेन लजिस्टिक प्रालिका सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल र प्रवल शाहीलाई पनि प्रतिवादी कायम गरी मुद्दा दर्ता भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर