ठोस रूपमा कार्ययोजना बनाएर काम नगर्दा कमीकमजोरीहरू देखिए : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ठोस रूपमा कार्ययोजना बनाएर काम नगरेका कारण कमीकमजोरीहरू देखिएको बताएकी छन्।

आर्थिक वर्षको वार्षिक समीक्षा गर्ने क्रममा मन्त्री शर्माले सरकारको प्राथमिक एजेण्डा सुशासन र सेवा प्रवाह भएको भन्दै त्यसलाई पूरा गर्न लक्ष्य, लक्ष्यको बाटो, समयसीमा निर्धारण गर्नु आवश्यक भएको बताइन्।

उनले आगामी आर्थिक वर्षमा विगतको समीक्षासहित कमजोरी र नेतृत्वमा भएको समस्यामाथि छलफल गर्दै अगाडि बढ्ने बताइन्।

उनले विगतको रिपोर्ट तुलनात्मक हिसाबमा राम्रो भए पनि सन्तोष गर्न सक्ने ठाउँ नभएको भन्दै अझै सक्रिय भएर लाग्न आग्रह पनि गरिन्।

उनले आउने आर्थिक वर्षमा हरेक महिनामा मन्त्रालयमा बैठक बसेर कार्ययोजना बनाउने र प्रत्येक निकायले प्रगति रिपोर्ट बुझाउनुपर्ने भन्दै त्यसका लागि मन्त्रालयले गर्नुपर्ने सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाइन्।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हरेक काममा सञ्चार प्रविधिले सहयोग गरिरहेको अवस्थामा त्यसबाट सकारात्मक र नकारात्मक प्रभावहरू देखिरहेको बताए।

सूचना प्रविधि र दूरसञ्चारको क्षेत्रमा नियामक निकाय दूरसञ्चार प्राधिकरण र दूरसञ्चार सेवा दिने कम्पनीहरूको समग्र देशलाई सञ्चारसँग जोड्नका लागि धेरै ठूलो हात रहेको उल्लेख गर्दै सचिव राउतले यो क्षेत्रमा नेपाल दूरसञ्चार प्राधिकरण गतिशील रूपमा अगाडि लानुपर्ने बताए।

सहरहरू कुरूप भए भन्ने हिसाबले महानगरपालिकाहरूले विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दा सेवा प्रवाहामा समस्या आएको पनि सचिव राउतले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर