२०८४ को सरकार रास्वपाको बन्छ, त्यसपछि मुलुक बन्छ : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले राज्यले ०.१६ प्रतिशत मात्रै बजेट युवाहरूको हकमा छुट्याएको बताएकी छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर महानगरपालिकाको वडा भेला तथा समिति गठन कार्यक्रममा सांसद कार्कीले युवाहरूलाई देशभित्रै राख्न आवश्यक भएको भन्दै त्यसका लागि राज्यले वातावरण सिर्जना गर्नुपर्ने बताइन्।

यस्तै उनले विज्ञ मानिसको अभावका कारण नै देश यो अवस्थामा पुगेको भन्दै अबको राजनीति विज्ञहरूले गर्ने राजनीति हुनुपर्ने बताइन्।

‘विज्ञ मानिसको अभावका कारण नै देश आजको अवस्थामा पुगेको छ। स्वास्थ्य घरघरमा पुग्न सकेको छैन, गुणस्तरीय शिक्षा हासिल गर्न सकेको छैन। त्यसकारण अबको राजनीति भनेको विज्ञहरूले गर्ने राजनीति हुनुपर्छ,’ उनले भनिन्, ‘युवाहरूलाई देशमा राख्न राज्यले हेर्नुपर्छ नि, ४२ प्रतिशत युवाहरू भएको देशमा ०.१६ प्रतिशत मात्रै बजेट छुट्याएको छ युवाको हकमा, त्यो बजेटले युवा देशभित्र बस्छन् त? हामीले वृद्ध र बालबालिकाको देश मात्रै बनाउन खोजेको हो?’

सांसद कार्कीले रास्वपाले देखेको सपना साकार गर्नका लागि रास्वपाको सरकार हुनु आवश्यक भएको बताइन्। उनले अहिलेको जस्तै साथ र सहयोग हुने हो भने त्यो सपना २०८४ सालमा पूरा हुने बताइन्। सांसद कार्कीले ८४ मा रास्वपाको सरकार बन्ने र त्यो सरकारले राष्ट्र बनाउने दाबी पनि गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *