डेंगु नियन्त्रणका लागि लार्भा खोज्न र नष्ट गर्न काठमाडौं महानगरले खटायो ६४ नगर प्रहरी

काठमाडौँ महानगरपालिकाले डेंगु रोग नियन्त्रण गर्न लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसका लागि ६४ नगर प्रहरी खटाइएको छ ।

लार्भा नष्ट गर्ने अभियानसँगै कामपाले ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ ।

कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेका हौँ ।’

अहिले नियमित रूपमा पानी परिरहेको छ । अकासे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ । लार्भा खोजेर नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइने पौडेलले बताए ।

‘लार्भिसाइड औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भाबाहेक अन्य कुनै पनि जीवलाई हानि गर्दैन । यो विषादी होइन । उक्त औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मरेर नष्ट हुन्छ,’ प्रमुख पौडेलले भने ।

औषधिले डेंगुसहित, औलो (मलेरिया), चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ । १० लिटर पानीमा दुई सय ५० मिलिलिटर औषधि यसको मात्रा हो ।

कामपाले वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरू गरिरहेको छ । हरेक हप्ताको बुधबार बिहान ८ देखि ९ बजेसम्म वडामा लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ । सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ । सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी बीचमा डेंगु रोगसम्बन्धी चित्रकला प्रदर्शन गरी अभिभावकसम्म सङ्क्रमणबारे चेतना पुर्‍याउने कामपा पनि गरिरहेको छ ।

यस रोगबारे परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० जुनसुकै समय सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था छ । उक्त एम्बुलेन्स फोन गरेको १५ मिनेटमा उपलब्ध हुने कामपाको भनाइ छ ।

प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत यस रोगका लागि चाहिने सिटामोल, जीवनजललगायत औषधिको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर