‘नो भोट’ का लागि अलग्गै चिह्नको व्यवस्था गरिएकाे छ : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मत दिन अनिच्छुकहरूका लागि छुट्टै चिह्नको व्यवस्था गरिएको बताएका छन्।

निर्वाचनसम्बन्धी कानून संशोधन र एकीकरणको ऐनबारे छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कसैलाई भोट हाल्न नचाहनेहरूका लागि अलग्गै चिह्नको व्यवस्था गरिएको र यस्तोमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत आए निर्वाचन रद्द हुने व्यवस्था गरिएको बताएका हुन्।

यसका साथै उनले उक्त निर्वाचनका उम्मेदवारले अर्को पटक उम्मेदवारी दिन नपाउने नयाँ खालको व्यवस्था पनि आएको जानकारी गराए।

उनले भने, ‘नेपाल कानून समाजद्वारा निर्वाचन आयोगको लागि तयार पारिएको निर्वाचनसम्बन्धी कानूनमा कोही व्यक्तिलाई कसैलाई पनि भोट हाल्न मन नभए मतपत्रमा म कसैलाई भोट हाल्दिनँ भन्ने विकल्पको लागि निश्चित चिह्न राख्ने व्यवस्था गरेका छौं। त्यो म कसैलाई भोट हाल्दिनँ भन्ने मतमा कुल मतको ५० प्रतिशतभन्दा बढी भयो भने त्यो निर्वाचन रद्द हुन्छ र त्यतिबेला उम्मेदवार भएको मानिसहरूले पुनः उम्मेदवारी दिन सक्दैन, किनभने उनीहरूलाई जनताले अस्विकार गरिसकेको हुन्छ। यो व्यवस्था पनि राखेका छौं।’

प्रमुख आयुक्त थपलियाले ऐनलाई लागू गरेर २०८४ को निर्वाचनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको भन्दै निर्वाचन सजिलो, सरल र निष्पक्षताका साथ सम्पन्न गर्न पनि पहल गरेको बताए।

निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि सञ्चारमाध्यमको पनि सकारात्मक हस्तक्षेप आवश्यक भएको भन्दै निर्वाचनसम्बन्धी कानूनलाई आम चर्चाको विषय बनाउन पनि थपलियाले आग्रह गरे।

उनले भने, निर्वाचन शासकीय प्रणालीमा परिवर्तन गर्ने हो भने निर्वाचनको व्यवस्थापनमा सुधार हुनुपर्छ। निर्वाचन गतिलो भयो भने मात्रै र निर्वाचनमा सदाचारिता कायम गर्न सक्यो भने मात्रै हामीले खोजेको सुशासन प्राप्त हुन सक्छ भन्ने उद्देश्यका साथ यो ऐनको मस्यौदा तयार गरेर पेश गरेका छौं। त्यसकारण यसलाई छिटो पारित गर्नको लागि सकारात्मक हस्तक्षेपको चाहियो, त्यो हामीतर्फ पनि केन्द्रित भए हुन्छ। निर्वाचनसम्बन्धी कानूनलाई आम चर्चाको विषय बनाई दिनुहुन पनि आग्रह छ।’

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ र प्राणवायु भएको चर्चा गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको आवधिक अभ्यासबाट नै कनै पनि मुलुकको लोकतन्त्र सुदृढ हुने बताए।

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ र प्राणवायु भएको चर्चा गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको आवधिक अभ्यासबाट नै कनै पनि मुलुकको लोकतन्त्र सुदृढ हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर