एनडीसीका शिक्षार्थीको नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय सैन्य सहकार्यबारे छलफल

भारतको राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीले नेपालको पाँचदिने भ्रमण गरेका छन्।

भदौ १० गते नेपाल आएका उनीहरूले बिहीबारसम्म नेपालको भ्रमण गरेका हुन्।

यस क्रममा उनीहरूले सरकारका उच्चपदस्थ एवं नेपाली सेनाका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरे।

भारत, जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित एनडीसीको ६३ औं कोर्षको प्रतिनिधिमण्डल एयर भाइस मार्शल मनिषकुमार गुप्ताको नेतृत्वमा नेपाल आएकोे थियो।

सो भ्रमण टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्‍याे।

यस्तै टोलीले एनडीसीका भूतपूर्व विद्यार्थी एवं नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गर्‍याे। टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग पनि भेटघाट गरेको थियो।

राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडीसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरूमध्येको एक हो।

भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै मित्रराष्ट्रका सशस्त्र बलका अधिकारीले सो कोर्षमा सहभागिता जनाएका थिए।

हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन्।

सन् १९९२ यता नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले यस एनडीसीबाट प्रशिक्षण लिइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर