सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका न्यायाधीश विनोद शर्माविरूद्ध १० दिने उजुरी आह्वान भएको छ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ विशेष समितिको बैठकले शर्माविरूद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

बैठकमा संसदीय सुनुवाइ समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित व्यक्तिको नियुक्तिका सम्बन्धमा उजुरी माग गर्नेसम्बन्धी सूचना प्रकाशन तथा प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिएका छन्।

न्याय परिषदबाट समितिसमक्ष भदौ ११ गते पत्र प्राप्त भएको उक्त पदमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइ प्रक्रिया छलफल गर्न बैठक राखिएको हो।

उच्च अदालत पाटनका न्यायाधीश (हाल सर्वोच्च अदालतमा काजमा रहेका) ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

नेपालको संविधानको धारा १२९ बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि लेखी पठाउने भनी न्याय परिषदको भदौ १० मा बसेको बैठकबाट निर्णय भएकाले नेपालको संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाइका लागि समितिमा ल्याइएको हो।

गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो। त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन। तर, यही भदौ १० गते बसेको न्याय परिषद बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर