ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन्।

बुधबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललिता निवासको जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिट्टै सरकारकै नाममा दर्ता हुने जिकिर गरेका हुन्।

उनले भने, ‘बालुवाटारमा ललिता निवास सरकारी जग्गा, दलाल कर्मचारी र प्रभावशाली राजनीतिक व्यक्तिहरू मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ। त्यसलाई अनुसन्धान गरेर ती व्यक्तिलाई कानूनको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। छिट्टै त्यो जग्गा सरकार मातहतमा ल्याउने ठोस पहलकदमी चालिनेछ र विश्वास छ त्यो सरकारी जग्गा छिट्टै सरकारकै नाममा दर्ता हुनेछ।’

उनले ६० किलो सुन तस्करीको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गरी कानूनको दायरामा ल्याई कारबाही गरिने प्रतिबद्धता जनाए। सुन तस्करी प्रकरण अनुसन्धानरत रहेको र केही दिनभित्रमा नै निष्कर्षमा पुग्ने उनको जिकिर छ।

उनले भने, ‘देशभित्र अवैध रूपमा जुन सुनको तस्करी भइरहेको छ। अहिले पछिको ६० किलो सुनको तस्करीलाई आधारित बनाएर त्यसका अपराधीहरूको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गर्ने गरी कानूनको दायरामा ल्याएर कारबाही गर्ने प्रक्रिया अनुसन्धानरत छ। केही दिनभित्रै निष्कर्षमा पुग्नेछ।’ -नेपाल न्यूज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *