सरकार आफैं तस्करीमा संलग्न छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैं तस्करीमा संलग्न रहेको आरोप लगाएका छन्।

तेजाव आक्रमणविरूद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकार आफैं तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको आरोप लगाएका हुन्।

‘सरकार तस्करीमा संलग्न हुन्छ, तस्करहरूलाई समर्थन गर्छ। सरकार कमिशनखोरीमा डुब्छ। जनताका समस्या हेर्दैन,’ उनले भने, ‘जनता पीडामा छन्। म सरकारलाई सुझाव दिन चाहन्छु,अनेक किसिमका स्टन्टबाजी होइन, भ्रष्टाचार नगर्नू, भ्रष्टाचार रोक्नुस्, कमिशनखोरी बन्द गर्नुस्, जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटोतर्फ लाग्ने काम गर्नुस्।’

उनले तेजाव आक्रमणमा परेका पीडितहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए।

उनले भने, ‘यस्तो कार्य कहीँ पनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस्, कोही पनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस् र कसैले गरे कडा सजाय दिने व्यवस्था गर्नुपर्छ। तेजाव आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नुपर्छ, यसको लागि उपचार सरकारले निःशुल्क गरोस्।’

राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यान दिन उनले सञ्चार माध्यमलाई सुझाव दिए।

उनले भने, ‘यो तेजाव आक्रमणविरूद्धको दिवसमार्फत हामीले मानवीय भावना, जागरण फैलाउन पनि जरूरी छ। अर्को कुरा, दण्ड सजायको कडा व्यवस्था छ भन्ने कुराको प्रचार पनि गर्न जरूरी छ। थप अपराध रोक्नका लागि हामीले यस प्रकारको प्रचार गर्न आवश्यक छ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर