विवादास्पद अभिव्यक्ति दिएका चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालयले सोध्यो स्पष्टीकरण

नेपालका लागि चिनियाँ राजदूत छन सोङलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

कूटनीतिक मर्यादाविपरीत नेपाल-भारत सम्बन्ध र नेपालको आर्थिक अवस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका राजदूत सोङलाई सोमबार मन्त्रालय बोलाएर स्पष्टीकरण सोधिएको हो।

मन्त्रालय स्रोतका अनुसार सोमवार अपराह्न पराष्ट्रसचिव भरतराज पौड्यालले आफ्नो कार्यकक्षमा राजदूत सोङलाई स्पष्टीकरण सोधेका हुन्।

मन्त्रालयका अधिकारीका अनुसार राजदूत सोङलाई आइन्दा नेपाल र तेस्रो मुलुकको सम्बन्धबारे नबोल्न र कूटनीतिक मर्यादामा बसेर अभिव्यक्ति दिन निर्देशनसमेत दिइएको छ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठक नै बोलाएर चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै उनलाई स्पष्टीकरण सोध्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो।

समितिका सबै सदस्यहरूले चिनियाँ राजदूतलाई आफ्नो कूटनीतिक सीमा ननाघ्न चेतावनी दिएका थिए।

समितिको निर्देशनपछि परराष्ट्र मन्त्रालयले राजदूत सोङलाई स्पष्टीकरण सोधेको हो।

राजदूत सोङले गत शनिवार एक सार्वजनिक कार्यक्रममा भारतसँगको विद्युत व्यापारबाट नेपालले घाटा बेहोरिरहेको बताउँदै यस्तोमा नेपाल कसरी आत्मनिर्भर बन्न सक्छ भन्ने अभिव्यक्ति दिएका थिए। उनले नेपालले भारतभन्दा चीनबाट आर्थिक लाभ लिन सक्ने बताएका थिए।

उनको यो अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ। उनलाई फिर्ता पठाउनुपर्ने मागसहित प्रदर्शनहरू भइरहेका छन्।

यस्तै संसदको दुवै सदनको बैठकमा सांसदहरूले चिनियाँ राजदूतको अभिव्यक्तिको कडा आलोचना गरेका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *