सुन तस्करी प्रकरण

साउन ३ मा सुन बरामदपछि फरार चिनियाँ सोही दिन पक्राउ परेका थिए भारतमा

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट तस्करीको ६० किलो ७१६ ग्राम सुन बरामद भएपछि फरार रहेका एक चिनियाँ नागरिक सोही दिन भारतमा पक्राउ परेको खुलेको छ।

सुन तस्करीमा मुख्य भूमिका रहेकामध्ये एक चिनियाँ नागरिक ३९ वर्षीय पेङ योङसिन सुन बरामदपछि नेपालबाट भारत भागेका थिए।

उनलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले साउन ३ गते पश्चिम बंगालको सिलिगुढीको खरिबारी क्षेत्रबाट भारत प्रवेश गर्ने क्रममा पक्राउ गरेको खुलेको हो।

एसएसबीले उनलाई खरिबारी प्रहरीलाई बुझाएको छ। चिनियाँ जासुस हुन सक्ने आशंकामा उनीमाथि प्रहरीसहित सेनाले पनि अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रहरीले उनीसँग सोधपुछ गर्दा उनले काभ्रे जिल्ला प्रशासनबाट जारी भएको नेपाली नागरिकता देखाएका थिए। तर, उनको साथबाट चिनियाँ राहदानी पनि बरामद भएको थियो।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराले (सीआईबी) ले उनलाई नेपाल ल्याउन भारतीय प्रहरीसँग समन्वय गरिरहेको ब्यूरो स्रोतले बतायो।

हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक शुमा तस्करी गरिएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।

५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएकाे  सीआईबीका अनुसार यस प्रकरणमा पेङ योङसिनको पनि मुख्य भूमिका देखिएकाे छ।

चिनियाँ गिरोहले हङकङबाट नेपालमा ब्रेक प्याडमा रेडी ट्रेडको नाममा मात्र एक वर्षमा ३ सय ६२ किलो सुन तस्करी गरेको सीआईबीको अनुसन्धानमा देखिएको छ।

६० किलो सुन प्रकरणमा सीआईबीले ३ अर्ब ५० करोड २ लाख रूपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाउनुपर्ने राय दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर