असईहरूलाई आईजीपीको निर्देशन- राज्यबाट प्राप्त अधिकारलाई शक्ति हैन जिम्मेवारीको रूपमा ग्रहण गर्नू

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले धीरता, इमान्दारिता, संगठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताएका छन्।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक (असई) आधारभूत तालिम २-१७८ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन्। समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरूलाई नगद पुरस्कार वितरण गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवन तनाव, दबाब र चुनौतीहरूको समिश्रण रहेको र सशक्त मानसिकताले सबै चुनौतीलाई परास्त गरेर आफ्नो कर्तव्य पालना गर्न सबल र सफल बनाउने बताए।

उनले आफ्नो कर्तव्यलाई अर्जुनदृष्टि सम्झेर तल्लीन भएमा व्यावसायिक जीवनका अड्चन र बाधाहरूलाई सहजै परास्त गर्न सफल हुने विचार व्यक्त गरे।

प्रहरीको कार्यक्षेत्रमा मानव अधिकार, लैंगिक संवेदनशीलता, जोखिममा रहेका वर्गहरूको संरक्षण तथा विधिको शासनजस्ता विषयहरूलाई सदैव शिरोधार्य गर्नुपर्ने र यी विषयहरूको पालनाले नै दीक्षित हुने प्रहरी अधिकृतहरूको व्यावसायिकतासमेत झल्काउने उनले बताए।

प्रहरीको नीलो बर्दीमा राज्यको कानूनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘दीक्षित हुन लागेका सबै प्रहरी सहायक निरीक्षकहरूलाई एउटा मन्त्र सधैँ मनन गर्न निर्देशित गर्न चाहन्छु, राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा हैन, यसलाई सदैव राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नुहोस्। कानूनले तपाईंका कार्यहरूलाई निर्देशित गर्दछ भने विवेकले तपाईंका निर्णयहरूलाई निर्देशित गर्दछ। संगठनप्रति वफादार सिपाहीको ब्रह्मले कहिल्यै पनि कसैप्रति अन्याय हुन वा गलत निर्णय लिन दिने छैन भन्ने विश्वास लिएको छु।’

कार्यक्रममा शिक्षालयकी निर्देशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापनसमेत व्यक्त गरेकी थिइन्।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ भदौ २० गतेदेखि सञ्चालित उक्त तालिममा ५५ जना महिलासहित कुल ४ सय २६ जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिए। कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिह्न सुशोभन गरेका थिए।

उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी, जिल्ला अदालत चितवनका न्यायाधीश वासुदेव न्यौपाने, चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, बागमती प्रदेश प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, भरतपुर महानगरपालिकाका कार्यकारी प्रशासकीय प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरू, सञ्चारकर्मीहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर