सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

सो नगरपालिकामा मधेस प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरूमध्ये सिम्रौनगढ-८, कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन तथा भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानबाट खुलेकाले मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार उनीहरूले निर्माण काममा खर्च भएको रकमभन्दा छ लाख ५८ हजार चार सय ४० रूपैयाँ बढी भुक्तानी दिएको देखिएको छ। सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको देखिएकाले मरासेनी र चौधरीविरूद्ध उक्त रकम बराबर बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

यसैगरी आयोगले जनता माविको भवन निर्माण उपभोक्ता समितिका अधयक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष किरणदेवीले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी भुक्तानीका लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी भुक्तानी लिएका कारण मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको देखिन आएकाले उनीहरूविरूद्ध पनि सोही रकम बराबर बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *