प्रधानमन्त्री दाहाल र चिनियाँ नेशनल पिपुल्स कंग्रेसका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ। उनीहरूबीच बेइजिङको ग्रेटहल अफ दि पिपुलमा भेटवार्ता भएको हो।

सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल-चीन सम्बन्धका विविध आयाममाथि प्रकाश पारे। उनले नेपाल-चीन सम्बन्ध सन् १९५५ मा औपचारिक रूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै सुरू भएको उल्लेख गरे।

उनले यस भ्रमणका क्रममा आफ्नो प्रधानमन्त्रीको हैसियतमा नेपाल-चीन सम्बन्धका विविध विषयमा छलफल भई नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताए।

प्रधानमन्त्री दाहालले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उँचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई ज्ञापन गरे।

त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल-चीन पञ्चशिलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने स्पष्ट पारे। चिनियाँ राष्ट्रपति सी चिनफिङले यस भ्रमणलाई महत्त्व दिएको र यस भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको उनले बताए।

अध्यक्ष झाओले नेशनल पिपुल्स कंग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *