बेलायतमा आयोजित ‘अभ्यास क्याम्ब्रियन पट्रोल’ मा नेपाली सेनालाई रजत पदक

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनस्थित सेन्निब्रिज प्रशिक्षण क्षेत्रमा सञ्चालन भइरहेको प्रतिस्पर्धात्मक ‘अभ्यास क्याम्ब्रियन पट्रोल-२०२३’ मा सहभागी नेपाली सेनाले रजत पदक प्राप्त गरेको छ।

अभ्यासमा सहभागी नेपाली सेनालगायत क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्स र बेलायती सेनाका टोलीहरूलाई बेलायत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सोमबार आयोजित समारोहमा पदक तथा प्रमाणपत्र वितरण गरेका छन्।

असोज १९ गते आरम्भ भएको सो प्रतिस्पर्धात्मक अभ्यासमा विशेषगरी पैदल फौजको पेसागत ज्ञान, सीप, रण कौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्यांकन गरिन्छ। अभ्यासमा भाग लिने टोलीले ४८ घण्टाको समयावधिभित्र हतियार तथा ३२ केजी तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामाग्रीसहित करिब ६५ किलोमिटरको दूरी पूरा गर्नुपर्दछ।

अभ्यासमा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने टिमलाई स्वर्ण पदक, ६५ देखि ७४.९ प्रतिशत अंक प्राप्त गर्ने टिमलाई रजत पदक र ५५ देखि ६४.९ प्रतिशत अंक प्राप्त गर्ने टिमलाई कांस्य पदक प्रदान गरिन्छ।

सन् १९६० बाट वार्षिक रूपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ। यस वर्षको ‘अभ्यास क्याम्ब्रियन पट्रोल’ मा विभिन्न ३१ राष्ट्रका ३८ वटा अन्तर्राष्ट्रिय टिमका साथै कुल १११ वटा टिम सहभागी छन्।

हालसम्म नेपाली सेनाको टोलीले उक्त प्रतिस्पर्धात्मक अभ्यासमा स्वर्ण २, रजत र कांस्य २ गरी कुल ७ पदक प्राप्त गरिसकेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर