प्रथम वीरगञ्ज गोल्डकपको उपाधि पुलिसलाई, आर्मी उपविजेता

नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप, २०८० को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।

उपाधिसँगै पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ रूपैयाँसहित ट्रफी र मेडल हात पारेको छ भने उपविजेता आर्मीले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ पुरस्कारसहित ट्रफीमा चित्त बुझाएको छ ।

वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मीका चारै जना स्ट्राइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गएको हो । टाइब्रेकरमा पुलिसका लागि कप्तान राम वजु र बुद्ध तामाङले गोल गरे भने उज्ज्वल राईको पेनाल्टी सुट आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए ।

टाइब्रेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोस्टको सेकेन्ड बारबाहिर गयो भने विमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले जोगाएका थिए । जितेन्द्र कार्कीको प्रहार भने गोलपोस्टको बारमा लागेर फर्किएको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच टाइब्रेकरमा आर्मीका लगातार तीनवटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक शत्रुधन चौधरी घोषित भएका छन् । उनले क्वेस्ट फार्मासियुटिकलको तर्फबाट १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरूङ घोषित भए । उनले नगद ५० हजार रूपैयाँ प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै शत्रुधन चौधरी, उत्कृष्ट मिडफिल्डर पुलिसकै उज्ज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भएको आयोजकले जनाएको छ । उनीहरूले जनही २०-२० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट कोच पुलिसका चेतकुमार घिमिरे घोषित भए । उनले पनि नगद २० हजार रूपैयाँ प्राप्त गरे ।

प्रतियोगितापश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले विजेता र उपविजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर