पुजिए प्रहरीका कुकुर, अपराध अनुसन्धानमा उत्कृष्ट पुरस्कृत (तस्बिरहरू)

यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरीका कुकुरलाई पूजा गरिएको छ ।

प्रहरीको केनाइन कार्यालय, महाराजगञ्जमा आइतबार आयोजित कार्यक्रमबीच कुकुर पूजा गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गरे ।

साथै उनले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘रियो’, बाधापार र हाइजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ र रनिङतर्फ ‘टाइगर’ लाई पुरस्कार प्रदान गरे । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उनले पुरस्कार प्रदान गरे ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले तिहार र कुकुर पूजाको शुभकामना व्यक्त गर्दै केनाइनले विभिन्न अपराधको सफल अनुसन्धान तथा प्रहरी कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै नेपाल प्रहरी संगठनको छवि उच्च पारेको बताए । केनाइनले केन्द्रमा मात्र नभई प्रदेशस्तरमा समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको उजले उल्लेख गरे ।

कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरूले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागुऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्धार कार्यलगायतको प्रदर्शनी गरेका थिए ।

नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यका साथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिमप्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर