सूर्य नेपाल सेन्ट्रल ओपन सुरू : एमेच्योर टासी छिरिङ शीर्ष स्थानमा

सूर्य नेपाल गल्फ टुर, २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सुरू भएको छ। पहिलो दिन एमेच्योर गल्फर टासी छिरिङ ७-अन्डर ६५ को सानदार नतिजामा शीर्ष स्थानमा रहेका छन्। उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पारे।

गोकर्ण गल्फ क्लबमा आज सहभागी ३३ प्रोफेसनल गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पारे। टासी शीर्ष स्थानमा रहँदा सद्भाव आचार्य ६-अन्डर ६६ सहित दोस्रो स्थानमा रहेका छन्। धरानका प्रोफेसनल गल्फर नीरज तामाङ ३-अन्डर ६९ सहित तेस्रो स्थानमा रहेका छन्। प्रोफेसनलतर्फ अगाडि रहेका नीरज लिडर एमेच्योर टासीभन्दा ४ स्ट्रोकले पछि रहेका छन्।

२-अन्डर ७० सहित जयराम श्रेष्ठ चौथो स्थानमा रहँदा १-अन्डर ७१ को नतिजामा तोरण विक्रम शाही पाँचौं स्थानमा छन्। इभन-पार ७२ को स्कोरमा दिनेश प्रजापति र प्रदीपकुमार लामाले संयुक्त रूपमा छैटौं स्थान बाँडे। यसैगरी तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई संयुक्त रूपमा आठौं स्थानमा छन्। उनीहरूले १-ओभर ७३ को कार्ड बनाए।

शीर्ष स्थानमा रहने क्रममा टासीले उत्कृष्ट सुरूआत गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा पूरा गरे। यो क्रममा उनले दोस्रो, छैटौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। पाँच पारको तेस्रो होलमा भने इगलको सफलता प्राप्त गरे। यसपछि १३ औं, १५ औं, र १७ औं होलमा एक-एक सट बचाएपनि १२ औं, १७ औं र १८ औं होलमा बोगी खेप्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए।

सद्भावले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा पूरा गरे। दोस्रो होलमा बोगी खेपे पनि तेस्रो, चौथो, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे। ११ औं, १२ औं, १४ औं र १७ औं होलमा एक-एक सट बचाए। १६ औं होलमा बोगीको सामना गरे।

तेस्रो स्थानमा रहेका नीरजले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाउने क्रममा पहिलो र तेस्रो होलमा बर्डी हाने भने आठौं होलमा एक सट खेर फाले। उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए। यो क्रममा १० औं र १४ औं होलमा बर्डी प्रहार गरे भने ११ औं र १६ औं होलमा बोगी खेप्दा १२ औं होलमा इगलको सफलता प्राप्त गरे।

चौथो स्थानमा रहेका जयराम श्रेष्ठले फ्रन्ट नाइन ४-अन्डर ३२ मा पूरा गरे। उनले पाँचौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १७ औं होलमा डबल बोगी खेप्दा २-ओभर ३८ मा सकाए।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ प्रोफेसनल गल्फर र ५ एमेच्योर खेलाडीले कट बनाउनेछन्। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर