नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा तीन प्रतिवादीको तर्फबाट बहस सकियो

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको प्रकरणमा उच्च अदालत पाटनमा तीन प्रतिवादीको तर्फबाट बहस सकिएको छ।

पटक-पटक पेसीमा चढेर पनि उच्च अदालतमा यो मुद्दामा सुनुवाइ हुन नसकेकामा मंगलबारदेखि भने सुनुवाइ हुन थालेकाे हाे।

मंगलबार भएको बहसमा प्रतिवादीहरू नरेन्द्र केसी, आङटावा शेर्पा र टेकनारायण पाण्डेको तर्फबाट बहस सकिएको हो।

उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा बहस भएको थियो। यो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। अब निरन्तर सुनुवाइ हुनेछ।

प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्दैछन्।

मुद्दाको फैसला नहुँदासम्म मुख्य अभियुक्तहरूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरूद्ध १६ जना उच्च अदालत गएका थिए।

त्यस्तै, धरौटीमा छुटेका दुई जनाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्चमा गएको छ।

यस प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन्।

खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन्। उनीहरू जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालत पुगेका थिए।

यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरूङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए। तुलाधर र गुरूङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो।

अभियुक्तविरूद्ध राज्यविरूद्धको अपराध, लिखत कीर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ। उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रूपैयाँको बिगो दाबी गरिएकोे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *