सूर्य नेपाल सेन्ट्रल ओपन : एमेच्योर सद्भावलाई करियरको दोस्रो उपाधि

युवा एमेच्योर गल्फर सद्भाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन्।

सद्भाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन्। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए।

अन्तिम दिन आज ३-अन्डर ६९ स्कोर गर्दा सद्भावले समग्रमा १७-अन्डर २ सय ७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिँदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन। इभन-पार ७२ खेल्दै समग्रमा १०-अन्डर २ सय ७८ सहित दिनेश प्रजापति दोस्रो भए। प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।

समग्रमा ७-अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए। उनले आज इभन-पार ७२ मा खेल सकाए। प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार रूपैयाँ नगद पुरस्कार हात पारे।

आज २-ओभर ७४ स्कोर गरेका सञ्जय लामा समग्रमा इभन-पार २ सय ८८ प्रदर्शनमा चौथो भए। प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार रूपैयाँ प्रदान गरियो। समग्रमा २-ओभर २ सय ९० को स्कोरमा निरज तामाङ पाँचौं भए। उनले अन्तिम १८ होलको खेल इभन-पार ७२ मा सकाए र ५८ हजार रूपैयाँ नगद पुरस्कार आफ्नो नाममा लेखाए।

पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए। आज ३-ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३-ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता सकाए। समग्रमा उनी छैटौं भए।

समग्रमा ४-ओभर २ सय ९२ सहित रवि खड्का सातौं भए। उनले आज इभन-पार ७२ मा खेल सकाए। उनले ५० हजार रूपैयाँ नगद प्राप्त गरे। आज ७-ओभर ७९ सहित समग्रमा ५-ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौं भए। उनले ४२ हजार ५ सय रूपैयाँ पुरस्कार राशि हात पारे। समग्रमा ६-ओभर २ सय ९४ सहित धनबहादुर थापा र तोरणविक्रम शाही संयुक्त रूपमा नवौं भए। धनले आज ६-ओभर ७८ र तोरणले ३-अन्डर ६९ स्कोर गरे। दुवैले ३७ हजार २ सय ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।

अन्तिम १८ होलको सुरूआत गर्दा आज सद्भावसँग ४ स्ट्रोकको अग्रता थियो। सद्भावले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे। दिनेशले भने पहिलो दुई होलमा पार बचाउँदा ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गर्दा सद्भावको अग्रता मात्र १ स्ट्रोकमा झरिसकेको थियो।

तर, यसपछि सद्भावले तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गरे र फ्रन्ट नाइनको खेल सकिँदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए। दिनेशले भने तेस्रो होलमा इगल प्रहार गरे पनि चौथो, छैटौं, आठौं र नवौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए।

यसपछि ब्याक नाइनमा सद्भावले दशौंदेखि तेह्रौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने सम्भावनालाई लगभग सुनिश्चित गरे। अन्य गल्फरले चुनौतीसमेत दिन सकेनन्। यसपछि १४ औं र १६ औं होलमा बोगी खेपे पनि ब्याक नाइन २-अन्डर ३४ मा पूरा गर्दै करियरको दोस्रो प्रोफेसनल उपाधिको हकदार बने। दिनेशले १४ औं होलमा एक सट खेर फाले भने १० औं, ११ औं र १७ औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३४मा सकाए।

भुवनले इभन-पार ७२ मा खेल सकाउने क्रममा फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। दोस्रो होलमा बोगी प्रहार गर्दा तेस्रो र सातौं होलमा एक-एक सट बचाए। छैटौं होलमा भने डबल बोगीको सामना गरे। यसपछि १५ औं होलको बोगीका विरूद्ध ११ औं र १८ औं होलमा बर्डी हान्दै १-अन्डर ३५ मा ब्याक नाइन सकाए।

सञ्जयले दोस्रो, सातौं र आठौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाए। १८ औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पूरा गरे।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहिरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको थियो। कुल ८ लाख ४० हजार रूपैयाँ नगद पुरस्कार राशिको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर