बालिका हत्या आरोपमा भारतीय नागरिक जेल चलान

बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रूपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।

बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए । चौहानले डुडुवा गाउँपालिका-१, टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको मुख थुनेर हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए ।

उनका अनुसार अभियुक्त चौहानले प्रहरी समक्ष आफूले शिलाबति चमारलाई खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन् । शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।

चौहानले चमारको हत्यापश्चात नजिकै ट्र्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्र्याक्टरको फालिले हिर्काइ खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए । अभियुक्त चौहानले घटनालाई तोडमोड गर्नका लागि खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट करिब एक दशमलव पाँच किलोमिटर टाढाबाट भाग्दै गरेको अवस्थामा अभियुक्त चौहानलाई पक्राउ गरेका थिए ।

पीडकविरूद्ध गत कात्तिक १६ गते म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले नाबालिकाको मृत्यु शंकास्पद देखिएकाले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहरा एसओसीओ अफिसर र तालिम प्राप्त कुकुरसहितको टोली लिएर घट्नास्थलमा पुगेका थिए ।

अभियुक्तविरूद्ध पीडित परिवारले जाहेरी नदिएकै कारण प्रहरी आफैंले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले जानकारी दिए । बाँके प्रहरीका अनुसार शिलाबति चमारको शव माटोमुनि गाडिएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर