काभ्रेका २२ वर्षीय ढकाल युक्रेनी सेनाको नियन्त्रणमा, उद्धारका लागि हारगुहार

रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका मन्डनदेउपुर–६, काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो। युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको संख्या २ पुगेको छ ।

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको हो। युक्रेनी सेनाले जेपोरोजियास्थित हिउँले भरिएको क्षेत्रमा तैनाथ रहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। युक्रेनी सेनाले उनीहरूलाई पक्राउ गरी गाडीबाट लैजाँदै गरेको, एउटा कोठामा राखिएको र आफ्नोबारे पूरा विवरण दिइरहेकोसम्बन्धी अलग–अलग तीन भिडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको भिडियोमा ढकालले आफू रुस आएको एक महिना २० दिन मात्रै भएको बताएका छन् । ‘रेड जोनमा ५ जना नेपालीसहित २३ जनाको समूह थियो । मेरा धेरै साथीहरू मारिएका छन्,’ मंसिर १७ गते रेकर्ड गरिएको भनिएको भिडियोमा ढकालले भनेका छन्, ‘नमस्ते बुबाआमा… मलाई अहिलेसम्म राम्रो छ । पछि के हुन्छ थाहा छैन । नेपाल सरकारलाई जतिसक्दो चाँडो निकाल्नु भनेर यो खबर सुनाइदिनुहोला ।’

उनले गाउँलेमार्फत प्रधानमन्त्रीलाई भनेर आफूहरूलाई निकाल्न बुबाआमासमक्ष आग्रह गरेका छन् । ‘आज २ तारिख (डिसेम्बर) हो । यो भिडियो कहिले पुग्छ थाहा छैन । त्यो बेला गाउँलेलाई भनेर… प्रधानमन्त्रीलाई भनेर… निकाल्नुपर्‍यो,’ उनले भनेका छन्, ‘धेरै–धेरै सम्झिरहेको छु । थाहा छैन के हुन्छ भनेर । अहिलेसम्म ठीकै छ ।

धेरै–धेरै सम्झिरहेको छु, आफूलाई, देशलाई ।’ उनले आफूलाई एजेन्टले झुक्याएपछि रुसी सेनामा भर्ना हुन बाध्य भएको बताएका छन् ।

‘म रुसमा पढ्न आएको थिएँ । विश्वविद्यालयले शुल्क भुक्तानीका लागि फोन गरेको थियो । मसँग पैसा थिएन । तिमीसँग पैसा छैन भने तिम्रो देशमा फर्क भन्यो,’ उनले भने, ‘मलाई फिर्ता हुन मन थिएन । मलाई पैसा कमाउनु थियो । मसँग विकल्प थिएन । मैले रुसी सेनामा भर्ना हुने निर्णय लिएँ ।’ रुसी सेनामा भर्ती भएपछि आफूले अहिलेसम्म ४ हजार रुबल (५७ सय रुपैयाँ) मात्रै पाएको बताए । ‘म सेनामा भर्ना भएको एक महिना २० दिन मात्रै भयो । उनीहरूले मलाई एक लाख ९५ हजार रुबल तलब दिन्छु भनेका थिए,’ उनले भने, ‘त्यो पैसा दिएको थिएन । धेरै नेपाली भर्ना भएका छन् । अहिले करिब ४–५ हजार नेपाली काम गर्छन् ।यकिन विवरण भने थाहा छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *