स्वदेशी सम्भावनाको सदुपयोग गर्न अर्थमन्त्रीको आह्वान

अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय मौलिक पहिचान, संस्कृति र अवसरको उपयोगमार्फत मुलुकलाई आर्थिक रुपमा सुदृढ बनाउन सकिने बताउनुभएको छ ।

नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरे बजारमा आजदेखि सुरु भएको ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत्त सांस्कृतिक महोत्सव-२०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्वदेशको कला, संस्कृति, प्राकृतिक स्रोत तथा स्थानीय साधनको उपयोगमार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका हुन् ।

‘रोजगारीको सृजनासहित शिक्षाको गुणस्तर र स्वास्थ्य सेवा सुधारको लागि यहाँकै शैली र सभ्यताको संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘दोस्रो विश्व युद्धपछि जापानले जसरी आफ्नै मौलिक परम्परालाई जोगाएर विकासमा चमत्कार गर्‍याे, अब हामीले त्यस्तै शैली अपनाउनुपर्छ ।’

पछिल्लो समयमा मेला-महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, प्रचारप्रसार र उपभोगमा केन्द्रित गराउनुको सट्टा भड्किलो हुँदै गएको भन्दै त्यसबाट सचेत रहन उनले ध्यानाकर्षण गराए ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलकुद र संस्कृतिलाई लक्षित गर्दै सुरू भएको महोत्सवलाई आगामी दिनमा प्रदेशस्तरीय बनाएर सञ्चालन गर्न सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए ।

लिखु गाउँपालिका संरक्षण तथा न्यू ढिकुरे युवा क्लब र पिप्ले युवा क्लबको सयुक्त आयोजनामा आजदेखि सुरू भएको महोत्सव आगामी पुस १० गतेसम्म चल्ने छ । मेला व्यवस्थापक हरिहर पाण्डेका अनुसार महोत्सवमा खेलकुद र संस्कृतिसँग सम्बन्धित सामग्रीको प्रदर्शनी तथा व्यापारका लागि एक सय कक्ष राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *