कांग्रेस नेता बालकृष्ण खाणः अदालतले छाडेपनि बाँकी नै छ सम्पत्ति शुद्धीकरण र अख्तियारको कारबाही

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको आदेशले धरौटीमा शुक्रबार रिहा हुने तयारीमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराउने भएको छ ।

नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मु्द्दा चलिरहेको छ। यसअघि मंसिर १५ गते उच्च अदालतले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएकाहरुलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो।

उच्च अदालत पाटनको बिहीवारको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा हुन लागेका नेता खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको हो।

उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको आदेशसँगै शुक्रबार जिल्ला अदालत काठमाडौंमा खाणले ३० लाख धरौटी जम्मा गरेर रिहा हुने तयारी छ। तर उनलाई यो मुद्दामा रिहा हुने भएपनि केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउने भएको हो।

सम्पत्ति शुद्धीकरण विभागले पनि अदालतबाट धरौटीमा रिहा भएकाहरुलाई अदालतको भन्दा आधा कम धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सम्पत्ति शुद्धीकरण विभागबाट आज नै रिहा भए खाणलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लगिने छ। यदि शुक्रबार सम्पत्ति शुद्धीकरण विभागमा नटुंगिए खाण शुक्रबार पनि छुट्ने सम्भावना हुने छैन।

सम्पत्ति शुद्धीकरण विभागले उनलाई पुनः अख्तियारमा पठाउने छ। यसअघिका प्रतिवादीहरुलाई अख्तियारले तारेखमा रिहा गरेकाले खाणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री खाण गत वैशाख २७ गते चाबहिलस्थित निवासबाट पक्राउ परेका थिए। ७ महिना पूरा जेल बसेपछि उनी रिहा हुन लागेका हुन्।

यसअघि मंसिर १५ गते उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलको इजलासले यो मुद्दाका सबैको निवेदनमा टुंगो लगाएको थियो। तर खाणको पक्षमा भने न्यायाधीशको राय बाझिएपछि आदेश हुन सकेको थिएन।

बिहीबार तेस्रो न्यायाधीशको इजलासमा पेश गरिएपछि खाणलाई थुनामुक्त गर्ने आदेश भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर