प्राधिकरणका कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट सुन तस्करी, शौचालयको दराजमा सुन, तस्करसँग चाबी !

तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ । उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको हो ।

उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी र भन्सार कर्मचारीको पहुँच बाहिरको चोरबाटोबाट क्यानकै कर्मचारीले विमानस्थल बाहिर पुर्‍याउने गरेको समेत खुलेको छ ।

गत मंसिर २१ गते मध्यरात त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि भन्सार विभागले गरेको अनुसन्धान र छानबिनमा व्यावसायिक व्यक्तिका लागि छुट्याइएको सीआईपी कक्षको शौचालयभित्र रहेको दराजमा यसअघि पनि पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटिएको भन्सार विभागले जनाएको छ ।

‘भरियाले दुबईबाट ल्याएको अवैध सुन प्लेनबाट ओर्लनेबित्तिकै सिधै शौचालय गएर उक्त दराजमा राख्ने रहेछन्। शौचालयमा सुन छाडेर तस्करहरू विमानस्थलबाट बाहिरिँदा रहेछन्,’ छानबिनमा सहभागी विभागका एक अधिकारीले भने, ‘त्यसपछि त्यो सुनलाई उपयुक्त समयमा क्यानका कर्मचारीले विमानस्थलको आपत्कालीन ढोका, छत, शव निकाल्ने ढोका हुँदै चोरबाटोबाट बाहिर निकालेर फेरि अर्को भरियाको जिम्मा लगाउने गरेका रहेछन् ।’

सुन ल्याउन अह्राउने, ल्याउने र विमानस्थलबाट बाहिर निकाल्ने काममा सहभागी १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ । दराजमा राखिएको सुन निकाल्न प्राधिकरणका ४ कर्मचारीको प्रत्यक्ष र ३ जनाको अप्रत्यक्ष रूपमा संलग्नता रहेको पाइएको छ। ‘उनीहरूले ल्याएको सुन दराजमा राखे/नराखेको यकिन गर्न शेरबहादुर बस्नेतले रेक्की गर्दा रहेछन् । सुन राखेको पक्कापक्की भएको खबर लेकबहादुर तामाङसम्म पुग्दो रहेछ । त्यहाँको दराजको अर्को चाबी लेकबहादुरसँग हुँदोरहेछ,’ अनुसन्धानमा खटिएका भन्सारका एक कर्मचारीले भने ।

‘लेकबहादुरले आफ्नो ड्युटीका बेला सुन निकालेर भीआईपी कक्षको बाहिरपट्टिबाट प्राधिकरणको प्रशासनिक कार्यालय नजिकको अर्को शौचालयसम्म पुर्‍याउने रहेछन्,’ उनले भने । शेरबहादुर उड्डयन प्राधिकरणका सरसफाइ कर्मचारी र लेकबहादुर कार्यालय सहयोगी हुन् । ‘शौचालयको भित्तामा राखिएको दराजको चाबी हराएपछि दुईवटा नक्कली चाबी बनाइएको रहेछ,’ भन्सार स्रोतले भन्यो ।

त्यही चाबीमध्ये एउटा मीनबहादुर घलेले सुन बोक्न चन्द्र घले वा कृष्णकुमार श्रेष्ठमध्ये जसलाई पठाइन्छ, उसैलाई दिने र अर्को लेकबहादुरले आफैं राख्ने गरेका थिए ।

‘लेकबहादुरले अर्को शौचालयमा पुर्‍याएको सुन लिन प्राधिकरणका अधिकृत राधाकृष्ण श्रेष्ठ पुग्छन् । उनी सुन बोकेर त्यही छेउको आपत्कालीन ढोका हुँदै विमानस्थल भवनको छतमा निस्किन्छन् । त्यहाँ सीटीईभीले कभर नगर्ने अनि भन्सार कर्मचारी तथा प्रहरीको ड्युटी र पहुँच पनि हुँदैन । छतमा बिजुली मर्मतसम्भार गर्न जान सानो हिँड्न मिल्ने ठाउँ छ,’ ती कर्मचारीले भने, ‘त्यहाँबाट शव निकाल्ने ढोकाको छेउमा पुगिन्छ । सँगै रहेको अर्को आपत्कालीन ढोकाबाट सुन विमानस्थलको फोहोर संकलन स्थलमा पुग्छ ।’ उक्त आपत्कालीन ढोकाको चाबी राधाकृष्णले मात्र बोक्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

सरसफाइअन्तर्गतका सिनो व्यवस्थापन गर्ने कर्मचारी रमेश देउलाले फोहोर संकलन स्थलमा पुर्‍याइएको सुन अर्का भरिया डीबी भनिने धनबहादुर गुरुङलाई जिम्मा लगाउने गरेको पाइएको छ। लमजुङका धनबहादुर भने फरार छन् । भन्सारले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइकर्मी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको स्रोतले जनायो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर