हाच्छ्युँ रोक्नु हानिकारक

हाच्छ्युँ रोक्न खोज्दा एक व्यक्तिको घाँटीभित्र चोट लागेपछि चिकित्सकले हाच्छ्युँ नरोक्न चेतावनी दिएका छन्।

बेलायतको डन्डीमा एक ३० वर्षीय पुरूषलाई घाँटीमा असह्य दुखाइ भएपछि नाइनवेल्स अस्पतालमा भर्ना गरिएको छ। हाच्छ्युँ रोक्नका लागि उनले नाक र मुख बन्द गरेका थिए।

स्क्यान गर्दा पत्ता लाग्याे कि हाच्छ्युँ रोकेका कारण उनको श्वासनलीमा २ मिलिमिटरसम्म घाउ बनेको थियो।

डन्डी युनिभर्सिटीका डाक्टरहरू यदि कुनै व्यक्तिले हाच्छ्युँ गर्दा आफ्नो मुख र नाक बन्द गरे श्वासनलीको माथिल्लो भागमा २० गुणासम्म दबाब बढ्न सक्ने बताउँछन्।

यसका कारण मानिसको कानको पर्दा फुट्न सक्ने उनीहरूको भनाइ छ। रक्तनलीमा अप्रत्याशित उभार आउन सक्छ, जसलाई एन्युरिज्म भनिन्छ। छातीको हड्डी भाँचिन वा अन्य गम्भीर चोट लाग्न सक्छ।

यो कुरालाई चिकित्सा विज्ञानसँग सम्बन्धित बीएमजे जर्नलमा गम्भीर विषयका रूपमा व्याख्या गरिएको छ।

चिकित्सकहरूका अनुसार ती व्यक्तिको जाँच गर्ने क्रममा घाँटी छुँदा त्यहाँबाट चर्को आवाज आइरहेको र त्यो उनको नियन्त्रणमा नरहेको पाइएको थियो।

हाच्छ्युँ आउँदा उनी कार चलाउँदै थिए र सिट बेल्ट लगाएका थिए। चिकित्सकका अनुसार उनलाई पहिल्यैदेखि एलर्जी र घाँटी दुख्ने समस्या थियो।

हाच्छ्युँले गर्छ शरीरको सुरक्षा
ती व्यक्तिको शल्यक्रिया आवश्यक नरहेको र केही समय अस्पतालमा निगरानीमा राखिएको चिकित्सकहरूले बताएका छन्।

उनलाई केही दुखाइ कम गर्ने औषधि दिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो।

चिकित्सकले उनलाई पर्याप्त आराम गर्न र दुई सातासम्म कुनै भारी काम नगर्न सल्लाह दिएका थिए।

पाँच हप्तापछि डाक्टरहरूले राहतको सास फेरे जब अर्को स्क्यानले उनको घाँटीको घाउ पूर्ण रूपमा निको भएको देखायो।

बीएमजेमा प्रकाशित प्रतिवेदनका प्रमुख लेखक डा. रास्देस मिसिरोभ्सका अनुसार हाच्छ्युँ गर्नु मानव शरीरको एक ‘रक्षा संयन्त्र’ हो, अर्थात् प्राकृतिक सुरक्षा प्रक्रिया हो।

यसले शरीरमा प्रवेश गर्ने इरिटेन्ट्स (चिन्ता पैदा गर्ने पदार्थ) लाई नाक हुँदै बाहिर निकाल्छ, त्यसैले हाच्छ्युँ रोक्न नहुने उनको भनाइ छ।

उनी भन्छन्, ‘हाच्छ्युँ गर्दा नाकबाट भाइरसजस्ता इरिटेन्ट्स पनि थुक र म्युकससँगै बाहिर निस्कन्छन्। यसलाई हाम्रो वरपर आइपुग्न नदिन हात वा कुहिनोकाे भित्री भागले नाक छोप्नुपर्छ।’

डाक्टर रासेड मिसिरोभ्स कहिलेकाहीँ मानिसहरू हाच्छ्युँ रोक्न नाक वा मुख बन्द नगेरर अन्य तरिकाले हाच्छ्युँ रोक्ने बताउँछन्।

उनी भन्छन्, ‘व्यक्तिगत रूपमा म हाच्छ्युँ रोक्न मेरो नाक बन्द गर्दिनँ। म फरक तरिका प्रयोग गर्छु। म आफ्नो नाकको मुनि मेरो माथिल्लो ओठमा औंला राख्छु र त्यो ठाउँलाई केही सेकेन्डसम्म थिच्छु। यो विधिले मेरा लागि काम गर्छ। यसबाट यो हुन्छ कि नाक खुल्ला छोड्नाको कारण निसास्सनाजस्तो अवस्था आयो भने नाकबाट हाच्छ्युँ निस्कन सकोस्।’

हाच्छ्युँ रोक्दा अचानक श्वासनलीमा गम्भीर चोट लाग्न सक्छ, जसलाई चिकित्सकीय भाषामा ‘स्पोन्टेनियस ट्रेकियल पर्फोरेसन’ भनिन्छ। डाक्टरहरू भन्छन् कि यस्तो अवस्था विरलै देखिन्छ तर कहिलेकाहीँ यो घातक हुन सक्छ।

सन् २०१८ मा बेलायतको लेस्टरमा एक व्यक्तिले हाच्छ्युँ रोक्दा उनको घाँटीमा चोट लागेको थियो।

हाच्छ्युँ रोकेपछि एक्कासी घाँटी दुख्न, बोल्न र निल्न समस्या हुन थालेको उनले बताएका थिए।

उनको घाँटी निको हुन आवश्यक पर्ने समय दिन डाक्टरहरूले उनलाई सात दिनसम्म ट्युबमार्फत खुवाएका थिए।

किन आउँछ हाच्छ्युँ ?
अनुसन्धान गरिरहेका डाक्टरहरू भन्छन् कि हाच्छ्युँ कीटाणु, विषाणु वा परागकणका कारणले मात्रै आउँदैन। कहिलेकाहीँ सूर्यको तेज किरण वा तेज प्रकाशले पनि व्यक्तिलाई हाच्छ्युँ आउन सक्छ।

१००० भन्दा बढी मानिसमा गरिएको अनुसन्धानपछि जर्मन अनुसन्धानकर्ताहरूले तेज किरण वा तेज प्रकाश कारण हाच्छ्युँ आउने बताए।

मानिसको हाच्छ्युँ आठ मिटर अर्थात् २६ फिटसम्म पुग्न सक्छ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा लिडिया बोरोइबाले गरेको अनुसन्धानले हाच्छ्युँ गर्दा नाकबाट निस्कने कण केही मिनेटसम्म हावामा तैरिन सक्ने देखाएको छ।

-बीबीसी हिन्दीबाट अनुवाद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर