जनस्तरबाटै किन उठ्यो मन्त्री सुदन किरातीको राजीनामाको आवाज ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा परेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको ‘क्रिश्चियन धर्मावलम्बीलाई मान्दिनँ भन्नु संविधान नमानेको तथा देशद्रोह हुने र त्यस्तालाई जेलमा हाल्ने’ अभिव्यक्तिले उनलाई विवादमा तानेको हो ।

उनको यस अभिव्यक्तिलाई लिएर जनस्तरबाटै विरोध भइरहेको छ । यसका साथै राजनीतिक दलका नेता तथा सांसद र धार्मिक अगुवाहरूले पनि यसको विरोध गरेका छन् । कतिसम्म भने उनको राजीनामाको आवाजसमेत उठिरहेको छ ।

निश्चय नै मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले यसखालको भड्काउ र उत्तेजक अभिव्यक्ति दिनु किमार्थ शोभनीय होइन । सार्वजनिक पदमा बसेको व्यक्तिले बेमेलको स्थितिमा पनि सबैलाई मिलाएर लैजानुपर्नेमा नेपालीहरूबीच रहेको धार्मिक सद्भाव बिथोल्ने गरी अभिव्यक्ति दिँदा उसको राजीनामाको आवाज उठ्नु स्वाभाविक हो ।

बुधबार राजधानीमा आयोजित क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु देशद्रोह हो भन्दै त्यस्तालाई जेल हाल्ने अभिव्यक्ति दिएका थिए ।

कार्यक्रममा उनले भनेका थिए, ‘तीन करोड नेपालीमा लाखौं क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो ।’

उनको यो अभिव्यक्तिपछि जनस्तरबाटै उनको राजीनामाको माग भइरहेको हो । उनलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शनसमेत भएको छ ।

कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफूहरूलाई जेल हाल्न मन्त्री किरातीलाई चेतावनीसमेत दिएका छन् ।

यस्तै राजनीतिक वृत्तमा पनि उनको अभिव्यक्तिको विरोध भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री किरातीको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै राजीनामा मागेका छन् ।

मन्त्री किरातीको अभिव्यक्तिबारे प्रश्न उठाउँदै लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

‘संस्कृतिमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै खेदजनक छ । यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्,’ लामिछानेले फेसबुकमा लेखेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पनि मन्त्री किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

‘तपाईंजस्तो पदमा बसेको मन्त्रीले क्रिश्चियनको विरोध गरेकोमा जेल जानुपर्छ भनेको कुरा गलत हो । द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो’, बिहीबार मन्त्री किराती पनि सहभागी संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राणाले भने ।

नेपालमा हिन्दु राज्यको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले किरातीलाई पदबाट हटाउन माग गरेका छन्।

‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्नुपर्दछ । प्रमको ध्यान जाओस् । पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुनबमोजिम कारबाही गरियोस्,’ थापाले लेखेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले किरातीको अभिव्यक्तिलाई लिएर नेकपा (माओवादी केन्द्र) माथि नै प्रश्न उठाएका छन् ।

‘संस्कृतिमन्त्री किरातीले कत्रो जेल बनाउलान् त अब ? उनले थुन्नैपर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, बौद्ध, मुस्लिम आदि) करिब ९८% रहेछ । माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान,’ बास्कोटाले लेखेका छन् ।

मन्त्री किरातीको राजीनामा माग गर्दै प्रदर्शन
मन्त्री किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले बिहीबार प्रदर्शन गरेको छ ।

उनको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संगठनले पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा सहभागीहरूले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्’, ‘सुदन किराती राजीनामा दे’, ‘धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर्’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरूषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गएर अरू समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताए ।

उनले मन्त्रीको अभिव्यक्ति मन्त्री पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरे । मन्त्री भएर सामाजिक सद्भाव बिगार्ने काम गरेको उनको भनाइ छ ।

विवादमा परेपछि के भन्छन् मन्त्री किराती ?
मन्त्री किरातीले आफ्नो अभिव्यक्तिबारे बिहीबार फेसबुकमा स्पष्टीकरण दिएका छन् । उनले बहसका लागि सबैलाई धन्यवाद भन्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न आह्वान गरेका छन् ।

‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने । फेरि पनि भन्छु, अहिले म सबैको अभिभावक हुँ, त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौं । अन्त्यमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो,’ किरातीले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर