सन्दीप लामिछानेविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ।

काठमाडौं जिल्ला अदालतमा दर्ता मुद्दाको अन्तिम सुनुवाइ जारी छ। आइतबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको हो।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतबार सुरूमा पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए।

आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। आइतबार दिउँसो खाजा समयपछि पनि सरकारी वकिलले बहस गर्दा नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ। पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।

मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले सफाइ पाउने वा जेल हुने टुंगो लाग्नेछ।सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ।

पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ। तर, यो मुद्दामा किशोरीको उमेर नै यकिन हुन सकेको छैन।

काठमाडौं जिल्ला अदालतमा एक वर्षदेखि विचाराधीन मुद्दामा फैसलाका लागि पटक-पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन। यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।

पछिल्लो पटक गत मंसिर २४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएकाे थियाे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर