पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन हुँदै

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ। गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटक-पटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि थप पहल लिएको हो।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय उक्त अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन तयारीमा जुटेको छ।

पर्यटन विज्ञसहितको सो अध्ययन समितिलाई पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र संघ सरकारसँगको समन्वय गर्ने कार्यादेश तोकिएको थियो।

‘समितिको पहिलो बैठकबाट पर्यटकीय राजधानी घोषणाको अवधारणा र अध्ययन प्रतिवेदनको मस्यौदा तयार गर्‍याैं,’ अध्ययन समितिका अध्यक्ष डा. देवकोटाले भने,’ समितिको पछिल्लो बैठकले प्रतिवेदनमा समेटिने विषयवस्तुको टुंगो लगाएको छ। सरोकारवालासँगको थप छलफलपछि अध्ययन प्रतिवदेनलाई अन्तिम रूप दिन्छौं।’

समितिले तयार पारेको अध्ययन प्रतिवेदनलाई यही पुस २६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिने उनले बताए। ‘पर्यटनमन्त्री, सचिवलगायत मन्त्रालयका पदाधिकारी पनि यस कार्यमा तल्लीन भएर लाग्नुभएको छ। पर्यटन क्षेत्रका विज्ञ र सरोकारवालाहरूको सुझाव प्रतिवेदनमा समेटिन्छ,’ उनले थपे।

नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको नीतिलाई कार्यान्वयन गर्न समितिले अध्ययन थालेको उनको भनाइ छ। पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्ने सम्बन्धमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यसअघि तयार पारेको अवधारणापत्रलाई आधार मानेर समितिले थप अध्ययनको काम गरेको हो।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले समितिको अध्ययन प्रतिवेदन आएपछि सोअनुसार पर्यटकीय राजधानीको घोषणाका लागि आवश्यक पूर्वाधार तयारीका काममा प्रदेश सरकार केन्द्रित हुने बताए। ‘पर्यटकीय राजधानी घोषणाका लागि चाहिने पूर्वाधार र मापदण्ड पूरा गरेपछि संघ सरकारकोसँगको समन्वयमा घोषणाको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।

मन्त्री थापाले पोखरालाई पर्यटकीय राजधानी बनाउन गण्डकी प्रदेश आफैं पनि सक्षम र तम्तयार रहनुपर्ने बताए। उनले पोखरा विश्वमै ख्याति कमाएको पर्यटकीय गन्तव्य भएकाले गुणस्तरीय सेवा र पूर्वाधारमा ध्यान दिनुपर्ने बताए। प्रदेशको समृद्धिको पहिलो आधारका रूपमा पर्यटन क्षेत्रलाई लिइएकाले पर्यटकीय राजधानी घोषणाले पर्यटनमा स्रोतसाधनको पहुँच र लगानी विस्तार हुने उनको भनाइ छ।

पोखराका पर्यटन सम्बद्ध संघसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वर्षौं भइसकेको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पूर्वाधार सम्पन्न पर्यटन गन्तव्य रहेकाले पर्यटकीय राजधानी घोषणाको माग गरिएको बताए। ‘पोखराका पर्यटन सम्बद्ध संघसंस्था र व्यवसायीले धेरै पहिलेदेखि नै उठाउँदै आएको माग हो यो। तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। पोखरामात्रै नभएर सिंगो देशकै आर्थिक समृद्धिमा यसले दूरगामी महत्त्व राख्छ,’ उनले भने।

पर्यटकीय गतिविधि, सहज पहुँच, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ बताउँछन्। हिमाल र तालतलैयाको अवलोकन, डुंगा सयर, अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल लगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जीजम्प, केबलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन्। उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन्। तालतलैयाको सहरको उपमा पनि पोखरालाई दिइन्छ।

फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन्। प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ। प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा। यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटक लोभ्याउने गर्छ। परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन्। साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ।

पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टराँ, कफी सप, बार, लाउन्ज बार, सभा-सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन्। हवाई र सडक दुवै मार्गबाट सहजरुपमा पोखरा आवतजावत गर्न सकिने सुविधा छ। पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ। पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोसाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त रहेका छन्। बैंक, एटिएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउन्टर उपलब्ध छन्। संकटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्टर सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *