सूर्य नेपाल एनपीजीए म्याच प्ले : डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति क्वाटरफाइनलमा

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो दिन डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति क्वाटरफाइनलमा प्रवेश गर्दा दोस्रो वरियताका नीरज तामाङ पहिलो चरणबाटै बाहिरिएका छन्।

दिनेशसँगै पहिलो वरियताका भुवन नगरकोटी, चौथो वरियताका जयराम श्रेष्ठ, पाँचौ वरियताका सञ्जय लामा, छैटौ वरियताका रबि खड्का, सातौं वरियताका रामे मगर, नवौं वरियताका भुवन कुमार रोक्का र १५औं वरियताका प्रदीप कुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका छन।

रोयल नेपाल गल्फ क्लबमा म्याच प्ले फर्म्याटमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा तेस्रो वरियताका दिनेश प्रजापतिले अनुभवी गल्फर तोरण विक्रम शाहीलाई प्रतिस्पर्धात्मक खेलमा १८औं होलमा पराजित गरे। उनले अब क्वाटरफाइनलमा छैटौं वरियताका रबि खड्कासँग प्रतिस्पर्धा गर्नेछन। रबि खड्काले भने ११औं वरियताका रमेश अधिकारीलाई ३/२ ले माथ दिंदै अन्तिम आठमा स्थान पक्का गरे।

पहिलो वरियताका भुवन नगरकोटीले १६औं वरियताका रामकृष्ण श्रेष्ठलाई ५/४ को सहज नतिजामा हराए। भुवनले भोलि क्वाटरफाइनलमा नवौं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रुपमा भेट्टाएका छन। भुवन कुमार रोक्काले भने आठौं वरियताका धन बहादुर थापालाई १८औं होलमा पराजित गरे।

दोस्रो वरियताका नीरज तामाङ भने अप्रत्याशित रूपमा पहिलो चरणबाटै बाहिरिएका छन। धरानका प्रो नीरजलाई १५औं वरियताका प्रदीप कुमार लामाले कडा चुनौती मात्र दिएनन, उनले १८औं होलमा खेल जित्दै क्वाटरफाइनलमा आफ्नो नाम सुरक्षित गरे। प्रदीपले अब क्वाटरफाइनलमा सातौं वरियताका रामे मगरको सामना गर्नेछन। भेट्रान प्रो रामे मगरले आज १०औं वरियताका सूर्य प्रसाद शर्मालाई ४/३ ले हराए।

चौथो वरियताका जयराम श्रेष्ठले सबैभन्दा सहज जित दर्ज गरे। उनले १३औं वरियताका दीपक मगरलाई ७/६ ले पराजित गरे। जयरामले क्वाटरफाइनलमा पाँचौ वरियताका सञ्जय लामासँग प्रतिस्पर्धा गर्नेछन। सञ्जयले १२औं वरियताका शिवराम पौडेललाई ५/३ को नतिजामा पराजित गरे।

सिजनको कुल आठ मध्ये यो प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउने नियम रहेको छ। तर यो पटक नेपाल नम्बर एक शुक्र बहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाएनन्। यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले प्रतिस्पर्धा गर्ने मौका पाए। चार खेलाडीले नाम फिर्ता लिँदा १७औं वरियताका दीपक मगर, १८औं वरियताका तोरण विक्रम शाही, १९औं वरियताका प्रदीप कुमार लामा र २०औं वरियताका रामकृष्ण श्रेष्ठले सहभागिता जनाए।

कुल २ लाख ५० हजार नगद पुरस्कार‌ राशीको प्रतियोगितामा आज पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६/६ हजार प्राप्त गर्नेछन। क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन। विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन।

क्वाटरफाइनल र सेमिफाइनल खेलहरु बिहिबार हुनेछ। पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर