राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि कांग्रेसले बनायाे मापदण्ड

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ। बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले उम्मेदवारका मापदण्ड बनाइएको बताए ।

उनले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरु र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको  बताए।  बैठकले परिवर्तन भएको महासमितिको बैठकको मिति पनि अनुमोदन गरेको छ। त्यस्तै समुदायमा कांग्रेस भन्ने कार्यक्रमलाई माघ ७ गतेदेखि २२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी घर टहरा निर्माणमा एक हजार वटा बनाइसकेकोमा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरेको बताए ।

त्यस्तै बैठकले सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरुलाई पनि प्रयोग गरेर चाँडोभन्दा चाँडो घरबार विहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने, शासनका क्षेत्रमा देखिएका केही समस्याहरुलाई केन्द्रीय समितिले उजागर गरेको र जनताले महसुस गर्नेगरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

बैठकले बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएकोबारे कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनेकुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *