गैंडाकोट हाफ म्याराथन : पुरूषतर्फ सेनाका रोकाया र महिलातर्फ सशस्त्र प्रहरीकी चौधरीलाई उपाधि

गैँडाकोट हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक राजन रोकायाले जितेका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा आयोजना गरिएको हाफ म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गर्दै उपाधि जिते । विजेता रोकायाले नगद एक लाख रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

गैँडाकोटको विजय फाउण्डेसनले आज आयोजना गरेको प्रतियोगितामा नेपाली सेनाकै धावक नरेन्द्रसिंह रावत दोस्रो भए । रावतले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गर्दै ५० हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५२ सेकण्डमा पूरा गर्दै काठमाडौँ धापासीका अजितकुमार यादव तेस्रो भए । यादवले २५ हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए ।

त्यस्तै महिलातर्फ हाफ म्याराथनमा सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो भएकी छन् । निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गर्दै महिलातर्फ पहिलो भएकी चौधरीले २५ हजार रूपैयाँ नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेको सापकोटाले बताए ।

हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्ने) थप सात जनालाई समेत नगद पाँच हजार रूपैयाँसहित पुरस्कृत गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । प्रतियोगितामा दुई सय ५० जनाले सहभागिता जनाएका थिए । निर्धारित दूरी पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिएको सापकोटाले जानकारी दिए ।

साथै गैँडाकोट हाफ म्याराथन अन्तर्गत विद्यार्थीमैत्री पाँच किलोमिटर दौड प्रतियोगितामा नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) का प्रेमलाल कोहार पहिलो भएका छन् । कोहारले निर्धारित दूरी १५ मिनेट १९ दशमलव ७८ सेकेण्डमा पूरा गर्दै १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १५ मिनेट ३६ दशमलव ६६ सेकेण्डमा दूरी पार गर्दै तनहुँ ऋषिङका अमृत विक दोस्रो भए । विकले नगद पाँच हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सो प्रतियोगिताको दूरी १५ मिनेट ५५ दशमलव ३७ सेकेण्डमा पूरा गर्दै काठमाडौँ चन्द्रागिरिका अनुज महत तेस्रो भए । उनले तीन हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा एक सय ८० जना विद्यार्थीको सहभागिता थियो ।

हाफ म्याराथन र विद्यार्थीमैत्री दौडका विजेताहरूलाई गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटा, अन्तर्राष्ट्रिय धावक वैकुण्ठ मानन्धरलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख अधिकारीले खेलकुदका माध्यमबाट व्यक्ति स्वस्थ हुनुका साथै राष्ट्रको नाम विश्वसामु चिनाउन मद्दत गर्ने बताए । गैँडाकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी गरेको भन्दै नगरको लगानीबाट राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले विजय फाउण्डेसनको आयोजनामा हरेक वर्षको पुस १५ गते हाफ म्याराथनको आयोजना गरिने जानकारी दिए । आगामी वर्षबाट म्याराथनलाई थप परिस्कृत गर्दै लैजाने सापकोटाको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर