ठगी आरोपमा म्यानपावर सञ्चालक पक्राउ

आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने भन्दै १९ लाख ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मार्स नामक म्यानपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका-१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने र त्यसका लागि २० लाख रूपैयाँ लाग्ने भनी प्रलोभनमा पारेका थिए ।

पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक तीन लाख रूपैयाँभन्दा धेरै तलब हुने विश्वासमा पारेर पीडितबाट पटक-पटक गरी १९ लाख ६० हजार रूपैयाँ ठगी गरेको जनाइएको छ ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *