भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यसूची

भारतीय विदेशमन्त्री एस जयशंकर आज (बिहीबार) नेपाल भ्रमणमा आउने भएका छन्। ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी हुन उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भारतीय वायु सेनाको विशेष विमानबाट आज बिहान १० बजे विदेशमन्त्री जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम तय भएकोे छ। काठमाडौ अवतरण गरेलगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन्। त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।

त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग  होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।

उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

साँझ ६.१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।

पुस २० गते बिहान ८ बजे उनले पशुपतिको दर्शन गर्नेछन् भने ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन्। त्यसपछि उनले त्यहाँ पुनः निर्माणका कामहरू हेर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै विदेशमन्त्री जयशंकर मध्यान्ह १२ बजे भारत फर्किनेछन् ।

विदेशमन्त्री जयशंकरको विदेश भ्रमणमा खासगरी विद्युत् व्यापार सम्झौतालगायत दुई मुलुकबीच सहमति हुने बताइएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार जयशंकरको भ्रमणका क्रममा मुख्य तीनवटा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । महाकाली सन्धिमा रहेको पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेगरी डीपीआर घोषणा गर्ने, भारतले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावट विद्युत् खरिद गर्ने र भारतीय दूतावासले ‘साना विकास परियोजना’ (एसडीपी) कार्यक्रममार्फत सिधै परिचालन गर्न पाउने रकमलाई बढाउने सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ।

२०५२ सालमा भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजनाको डीपीआर ६ महिनाभित्र बनाएर तत्काल निर्माण थाल्ने उल्लेख भए पनि अहिलेसम्म हुनसकेको छैन। पछिल्ला समय हरेक उच्चस्तरीय भ्रमणमा डीपीआर ६ महिनाभित्र बनाउने भनिए पनि काम हुन सकेको छैन। अधिकारीहरूका अनुसार पानीको उपयोग, लाभको बाँडफाँट र लगानीको प्रारूपमा सहमति जुट्न सकेको छैन ।

दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरीय बैठक भनिए पनि खासगरी भारतको सप्तकोशी उच्च बाँधको विषयलाई केन्द्र बनाएर लैजाने भन्ने छ । उच्च स्रोतका अनुसार भारतले यस पटकको बैठकमा सप्तकोशी उच्च बाँधको विषय पनि प्रवेश गराउनेछ । भारतले निर्माण गर्ने भनिएको प्रस्तावित सप्तकोशी उच्च बाँधको उचाइ घटाउने विषयमा नेपाल–भारत संयुक्त विज्ञ टोलीको सहमतिसमेत भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर