मेयर बालेनले सफाइको मौका नै नदिई निलम्बन गरेकाे कर्मचारीकाे गुनासाे

काठमाडौं महानगरपालिकामा कर्मचारी निलम्वन गर्दा सफाइको मौका नै नदिई निलम्बन गरेको पाइएको छ। मेयर बालेन्द्र साहले सफाइको मौका नै नदिई एकाएक निलम्बन गरेपछि कर्मचारीमा असन्तुष्टि बढेको छ।

महानगरले स्थानीय सेवा (संगठन तथा सञ्चालन) ऐन–२०७९ विपरीत कर्मचारीलाई निलम्बन गरेको हो । तीन जना कर्मचारीलाई पुस १३ गतेको मिति राखेर १६ र १७ गते पत्र दिइएको छ।

स्रोतका अनुसार मेयर साहका सचिवालय प्रमुख नूरनिधि न्यौपानेले १७ र जनस्वास्थ्य विभागका प्रमुख एवं उपनिर्देशक रामप्रसाद पौडेलले १६ गते पत्र बुझेका छन् भने विभागका वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले पत्र बुझेकी छैनन्।

कर्मचारीलाई निलम्बन गर्नुपर्दा सफाइको मौका दिनुपर्ने कानुनी व्यवस्था छ।  ऐनको दफा १२४ को उपदफा १ मा विभागीय सजायको आदेश दिने अधिकारीले कुनै कर्मचारीलाई सजायको आदेश दिनुभन्दा अघि कारबाही गर्न लागेको कारण उल्लेख गरी कम्तीमा सात दिनको म्याद दिई आफ्नो सफाइ पेस गर्ने मौका दिनुपर्ने व्यवस्था छ।

तर कामपाले दिएको पत्रमा सो ऐनको दफा १२१ को १ (क) अनुसार निलम्बन गरेको उल्लेख छ। कार्यपालिकाको आधिकारिक रजिस्टरको भन्दा फरक निर्णयको प्रतिलिपि प्रमाणित एवं गलत ढंगबाट निर्णय गरेको पत्र थम्याएर निलम्बन गरिएको छ।

यही पुस १६ गतेको प्रमुख स्तरीय निर्णयअनुसार छानबिन समितिको प्रतिवेदन नआएसम्म निलम्बन गरिएको पत्रमा उल्लेख छ। कामपाले कारबाही गरेको दफा १२१ को (क) मा निलम्बन नगरी कुनै ओहदामा काम गर्न दिँदा झुटा सबुत प्रमाण संकलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबुत प्रमाण गायब गर्न सक्ने सम्भावना देखिएकाले कारबाही गरेको जनाएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर