सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने मात्रै नबनोस् : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाई उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६ औं साधारणसभालाई सम्बोधन गर्दै उनले केही वर्षअघिसम्म नेपाल कृषिमा आत्मनिर्भर रहेको भए पनि पछिल्लो समय कृषिमा परनिर्भर बन्दै गइरहेको बताए ।

उनले व्यक्तिले मात्रै कृषि क्षेत्रको उपार्जन गर्ने र उत्पादकत्व वृद्धि गर्ने कुरा सम्भव नरहेकाले सबै मिलेर कृषिमा आत्मनिर्भर बन्नुपर्ने बताए ।

उनले कृषि क्षेत्रलाई राज्यले दिनुपर्ने प्राथमिकता र कृषि क्षेत्रलाई समेत समेटेर बनाइएको सहकारी ऐन, २०७४ पछि पनि कृषिमा कुनै प्रभाव नपरेको बताए ।

उनले सहकारी क्षेत्र बचत तथा ऋणको कारोबार गर्ने किसिमको मात्रै हुन नहुने जिकिर गरे । उनले कृषिलाई आधुनिक ढंगबाट अघि लैजाने, बाँझो जमिनलाई उर्वर बनाउने कुन ठाउँमा के कुरा उत्पादन गर्ने, यसको बजारीकरण कसरी गर्ने र सम्भव भएसम्म कृषिलाई यान्त्रीकरणबाट अघि बढाउने बारेमा अध्ययन हुन जरूरी रहेको बताए ।

सभामुख घिमिरेले सरकारले किसानहरूलाई आफ्नो नीतिअन्तर्गत समेट्नलाई तीन खम्बे अर्थनीति लिएर सहकारीको माध्यमबाट, राज्यले लगानी गर्ने र निजी क्षेत्रलाई पनि समावेश गर्ने सिद्धान्त अपनाएर प्रभावकारी रुपमा काम गर्दै जानुपर्ने बताए ।

उनले सहकारी आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि लैजान र छरिएर रहेका किसान, साना किसानहरूलाई एक ठाउँमा ल्याइ काम गर्न आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *