रेशम चौधरी सर्वसम्मत चुनिए नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।

अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो। निर्विरोध भए दिउँसो १ बजेसम्म अध्यक्ष घोषणा गर्ने कार्यतालिका थियो।

उक्त समयभित्र चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन्। यद्यपि निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ।

चौधरीको उम्मेदवारीमा रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक थिए।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवारी परेकाले सहमतिको प्रयास भइरहेको बताइएको छ।

अध्यक्ष भएका चौधरी यसअघि पार्टीको संरक्षक थिए। पार्टी अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्। रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन्।

नागरिक उन्मुक्तिले एक व्यक्ति एक पद लागू गर्ने बताएको थियो।

टीकापुर घटनापछि केही वर्ष चौधरी भूमिगत थिए। उनी राजपाबाट २०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

उनी केही समयपछि जेल परेका थिए। सोही बेला नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो।

महाधिवेशनबाट ३९ जना पदाधिकारीसहित दुई सय ४६ सदस्यीय केन्द्रीय समिति सदस्य निर्वाचनबाट र दुई सय ५५ जना केन्द्रीय सदस्य मनोनित गर्ने पार्टीको विधानमा व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर