हाेटलकाे स्विमिङ पुलमा करेन्ट लागेर साढे चार महिनादेखि बेहोश छन् सजिलमान, बल्ल दर्ता भयाे जाहेरी

सजिलमान शाक्य साढे चार महिनादेखि बेहोश भएर ओछ्यान परेका छन्। ललितपुर घर भएका ४० वर्षीय सजिलमानलाई लामो अस्पताल बसाइपछि चिकित्सकको सल्लाहमा अहिले घरमै २४ सै घण्टा नर्सको निगरानीमा राखिएको छ।

सजिलमानको उपचारमा मोटो रकम खर्च भयो। तर, अहिलेसम्म होश खुल्ने कुनै छाँट छैन। उनी ‘कोमा’ मा पुग्नुको कारण स्विमिङ पुलमा पौडिँदा करेन्ट लागेकाले भएको परिवारको दाबी छ।

पारिवारिक स्रोतका अनुसार सजिलमान भदौ १५ मा श्रीमती र साढे दुई वर्षकी छोरी लिएर स्विमिङ गर्न घर नजिकैको होटल स्क्वायर पुगेका थिए। त्यहाँ ‘हिटेड पुल’ भएकाले रिजर्भेसन गरेर गएका थिए।

होटलको छतमा रहेको स्विमिङ पुलमा छोरी र सजिलमान पौडिन थाले। श्रीमती फोटो खिच्दै थिइन्।

बाबुछोरी केहीबेर पानीमा पौडिएपछि श्रीमतीले छोरीलाई पुलबाहिर निकालिन्। श्रीमान् भने स्विमिङ पुलमै थिए। उनीतिर हेर्दा उनी दुवै हात उचालेर काँपिरहेको देखिएको सजिलमानकी श्रीमती बताउँछिन्।

तर, उनलेसजिलमानले छोरीलाई जिस्काएर बोलाएको भन्ने ठानिन्। र, हात समाउन खोजिन् तर झट्का उनलाई लाग्यो। सजिलमान डुब्न लागेपछि उनले पुनः समाउन खोज्दा होटलका स्टाफ आएर तत्काल होटेलकै गाडीमा मेडीसिटी अस्पताल लगियो।

परिवारका अनुसार सजिलमानलाई स्विमिङको राम्रो ज्ञान थियो। त्यसबेला स्वास्थ्य अवस्था पनि ठीक रहेका परिवारको दाबी छ। पूर्ण रूपमा अचेत अवस्थामा अस्पताल पुर्‍याइएका उनको अहिलेसम्म होश खुलेको छैन। हातको नाडीमा जलेका दाग छन्। चिकित्सकका अनुसार उनको मस्तिष्कमा आवश्यक अक्सिजन नपुग्दा गम्भीर आघात पुगेको छ।

करिब दुई महिना अस्पतालमा उपचार गर्दा पनि उनी कोमामा रहेपछि चिकित्सककै सल्लाहमा परिवारले उनलाई घरमा ल्याएका हुन्। अहिले घरमै आईसीयूको वातावरण बनाएर उनको उपचार भइरहेको छ।

घटनाबारे सजिलमानको परिवारले सुरूदेखि नै प्रहरीमा जाहेरी दिन खोजेको थियो। तर, चार महिनासम्म जिल्ला प्रहरी परिसर ललितपुरले जाहेरी नलिएको परिवारको गुनासो छ। सहमतिको प्रयासका लागि जाहेरी नलिइएको परिवारको आरोप छ।

प्रहरीले उजुरी नलिएपछि उनीहरूले प्रक्रियाअनुसार जिल्ला सरकारी वकिलको कार्यालय ललितपुर गएर होटेल सञ्चालकविरूद्ध ज्यान उद्योगमा जाहेरी दिए। त्यता पनि पहिला सहमतिकै प्रयास भएको परिवारको दाबी छ।

परिवारले जाहेरी दर्ताको अडान कायम राखेपछि सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरी कार्यालय पठाएको छ। सजिलका भाइ विवेक शाक्यका अनुसार आइतवार जाहेरी दर्ता भएकाे हाे।

प्रहरी अधिकारी भने जाहेरी दर्ता गर्न नमानेको विषय अस्वीकार र्गछन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले अगाडि नै प्रहरीले जाहेरी लिन नमानेको भन्दा पनि परिवार पक्ष र होटल पक्ष क्षतिपूर्तिको विषयमा अल्झिएको बताए।

जाहेरी ढिला हुनुमा प्रहरीको केही भूमिका नरहेको भन्दै उनले अदालतबाट पक्राउ पुर्जी जारी भए होटल सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *